काठमाडौं, ६ भदौ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नेताहरुले नेपालको भूमि लिम्पियाधुरालाई आफ्नो भन्न नसकेको बताएका छन् ।
राजधानीमा आयोजित कार्यक्रममा उनले देउवा–प्रचण्ड–माधवले लिम्पियाधुरा नेपालको हो भन्न सक्छन्? भन्दै प्रश्न गरे ।
उनले प्रश्न गर्दै भने, ‘गठबन्धनको हेर्नुस त म्याउ म्याउ । यिनीहरुले लिम्पियाधुरा नेपालको भन्न सक्छन्? प्रश्न गर्न चाहन्छु । शेरबहादुर देउवाज्यु दार्चुलाको नक्सामा लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको हो कि होइन? प्रचण्डज्यु चुइक्क गर्नुहुन्न । माधव नेपाल भन्ने हुनुहुन्छ, लिम्पीयाधुराबारे बोल्न पर्दैन?।’
उनले सत्ता गठबन्धनलाई जनविरोधीको संज्ञा दिए । उनले भने, ‘लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ । अहिलेको गठबन्धन सुन्न, सहन सक्दैन । प्रतिस्पर्धाको राजनीति होइन, राजनीतिलाई दुष्मनी बनाएको छ ।’
गठबन्धनले जनता ढाँट्ने, जनता अलमलाउने काम गरेको उनको आरोप लगाए छ । नेपाली कांग्रेस नसप्रिएकोमा उनले अचम्म माने ।
‘लोकतन्त्र भनेको फरक विचार मान्नु हो । लोकतन्त्रको मुख्य कुरा फरक मान्यता, फरक विचारलाई सुन्न सक्नु हो । तानाशाहीले फरक विचार सुन्न सक्दैन । सहन सक्दैन । अहिलेको गठबन्धन तानाशाहीजस्तै छ,’ उनले भने ।