मृतक व्यक्तिलाई जीवित बनाएको भन्दै भ्रम फैलाउने पास्टर पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७९, ६ भाद्र

काठमाडौं, ६ भदौ । मृत्यु भएको व्यक्तिलाई जीवित बनाएको भन्दै भ्रम फैलाउने बुटवलको एक चर्चका पास्टरलाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार बिहान बुटवल उपमहानगरपालिका–११ बुद्धनगरबाट पास्टर राजेन्द्र गोतामेलाई प्रहरीले पक्राउ गरेको हो ।

आइतबार सामाजिक सञ्जालमा एक जना मृतकलाई जीवित बनाएको भन्दै भिडिओ सार्वजनिक भएको थियो । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीका अनुसार उनले सो भिडिओ पुरानो हो भनेका छन् ।

उनले उक्त भिडियो लमजुङ या लुम्बिनीको हो भनेर बताएको केसीले जानकारी दिए । उनीमाथि के–कस्तो मुद्दामा अनुसन्धान गर्ने बुझ्न जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा लगिएको छ। त्यहाँबाट आदेश भएअनुसारकै मुद्दा चलाइने उनले बताए ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा बुटवलको होली क्यालभरी चर्चका पास्टरले मृत व्यक्तिलाई पुनः जीवित गराएको भनिएको छ । विवेक सत्याल नामका फेसबुक प्रयोगकर्ताले सार्वजनिक गरेको भिडिओमा भुइँमा सुतेकी (मृत भनिएकी) महिलालाई एक पुरूषले केही शब्दहरू भन्दै हातले तानेर उठाएको देखिन्छ ।

भिडिओमा पास्टर भनिएका राजेन्द्र गोतामेले ’प्रभु यशुको प्रभावले मृत्यु भएकी महिलालाई पुनः जीवित गराएको’ भन्दै ’यशुलाई धन्यवाद दिन’ भनेका छन् । गोतामेसँगै वरिपरि केही महिला तथा पुरूषहरूले समेत केही भन्दै गरेको भिडिओमा देखिन्छ ।

भिडिओमा मृत भनिएकी महिला उठेपछि उनकी सासूलाई अगाडि बोलाएर ’विभिन्न अस्पताल लगेर लाखौं रुपैयाँ खर्च गरी उपचार गर्दा पनि निको नभएको’ भन्न लगाइएको छ ।

सासू भनिएकी ती वृद्धाले बोल्दै गर्दा पास्टर राजेन्द्र गोतामेले ’एम्बुलेन्समा राखेर काठमाडौं लैजाँदासमेत निको नभएको तर ५/६ लाख खर्च भएको आफूले सुनेको’ भन्न लगाएका छन् । -सेतोपाटीबाट

प्रतिक्रिया