काठमाडौं, ६ भदौ । बेलायतमा नेपाली नर्स लैजानको लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
रोजगारीका लागि स्वास्थ्य क्षेत्रका जनशक्ति लैजाने विषयमा सोमबार नेपाल र बेलायतबीच जीटूजी (सरकार–सरकारबीचको समझदारी) मोडलमा सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा हस्ताक्षर भएको हो ।
श्रम सम्झौता नेपाल सरकारका तर्फबाट श्रम मन्त्रालयका सचिव एकनारायण अर्याल र बेलायत सरकारको तर्फबाट नेपालका लागि बेलायती राजदूत निकोल पोलिटले हस्ताक्षर गरे ।
नेपालबाट नर्स मात्र नभई ल्याब असिस्टेन्ट, अनमी, बीएन, फार्मेसिस्टलगायत पनि पठाउने गरी श्रम सम्झौता भएको मन्त्रालयले जनाएको छ । पहिलो चरणमा कम्तीमा एक हजार नर्स पठाउने गरी सम्झौता भएको जनाइएको छ । यद्यपि संख्याबारे अहिलेको सम्झौतामा उल्लेख छैन ।
रोजगारीका लागि बेलायत जान चाहने नर्सले इन्टरनेसनल इङ्लिस ल्याङ्ग्वेज टेस्टिङ सिस्टम (आईईएलटीएस) परीक्षामा ६.५ अंक प्राप्त गर्नुपर्नेछ । बेलायत जाने स्वास्थ्य जनशक्तिले नर्सिङ काउन्सिलबाट अनुमतिपत्र लिनुपर्ने, पाँच वर्षसम्म काम गरेपछि अनिवार्य स्वदेश फर्किनुपर्ने, आईईएलटीएस अनिवार्य गर्नुपर्ने, २० देखि ४५ वर्ष उमेर समूहका नर्स पठाइने, दक्षताका आधारमा उनीहरूले आईईएलटीएसमा ६ अंक ल्याउनुपर्ने सर्त छन् ।
साढे दुई वर्ष सरकारले मान्यता दिएका अस्पतालमा काम गरेका नर्सले आईईएलटीएस परीक्षामा सहभागी हुन पाउने जनाइएको छ । उनीहरुको तलब बेलायती नागरिकको सरह हुने भएको छ । बेलायतले शून्य लागमा लैजाने सहमति जनाएको पनि मन्त्रालयले जनाएको छ ।