अहिले एमाले अप्ठ्यारो परिस्थितिमा छ: सुरेन्द्र पाण्डे
अखबार टुडे
प्रकाशित:
२०७९, ५ भाद्र

पोखरा, ५ भदौ । नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले अहिले एमाले अप्ठ्यारो स्थितिमा रहेको बताएका छन् ।

आइतबार प्रेस चौतारी कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै पाण्डेले २०५६ को चुनावमा जस्तै अहिले पनि एमाले अप्ठ्यारो स्थितिमा रहेको बताएका हुन् ।

२०५६ सालमा भएको चुनावमा पार्टी विभाजित भए पनि हाम्रा विरुद्धमा कसैको गठबन्धन नभएको बताउँदै पाण्डेले भने, ‘अहिले हामी विभाजनको अवस्थामा पनि पर्ने र सँगसँगै विभिन्न दल मिलेर गठबन्धन पनि गर्ने दुई चुनौति हाम्रा सामु छन् । यी दुबै चुनौतिलाई हामीले गम्भीरतापूर्वक एनालाइसिस गरेका छौं ।’

नेकपा विभाजनको क्रम सँगसँगै एमालेभित्र पनि विभाजनको स्थिति उत्पन्न भएको, सानै हिस्सा वा सानै संख्यामा गएको भए पनि त्यसले विभाजनको छाप छाडेको र जनतामा प्रभाव पनि परेको पाण्डेको भनाइ छ ।

उनले अहिलेको गठबन्धन मुलुकका निम्ति आफैं समस्या बनेर आउन सक्ने बताए । पाण्डेले भने, ‘गठबन्धनबाट मुलुकले समाधान पनि नपाउने, गठबन्धन केका लागि भन्दा समस्या समाधानको लागि भन्ने तर गठबन्धन आफैं समस्या बनेर आयो भने न त मुलुकले समाधान पायो न कुनै एउटा दललाई अगाडि बढ्नका लागि बाटो खोलियो । यो गठबन्धनले मुलुकलाई थप संकटतिर पनि लान सक्छ ।’

आउने ५ वर्षले यसअघि भएका राजनीतिक अस्थिरता समाधान गर्न सक्यो भनेमात्रै देशले सही दिशा लिने पाण्डेको भनाइ छ ।

उनले आउने चुनावले कुनै बहुमतको सरकार नहुने र कम्तिमा २/३ सरकार बन्ने सम्भावना रहेको बताए । बहुमत नपुगेपछि खिचातानी हुने र त्यसले अहिलेको असन्तुष्टि हटाउने भन्दा जारी राख्ने सम्भावना बढी रहेको पाण्डेले दाबी गरे ।

एमालेले यी सबैखाले समस्याको विश्लेषण गर्दै राजनीतिक घोषणा पत्र बनाइरहेको पाण्डेले बताए ।

प्रतिक्रिया