काठमाडौं, ४ भदौं । नेकपा माओवादी केन्द्रले २१ सदस्यीय पदाधिकारी टुंगो लगाएको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिति बैठकबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको पार्टी पदाधिकारीको प्रस्ताव सर्वसम्मत पारित गरेको हो ।
पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराका अनुसार २१ सदस्यीय पदाधिकारीमा महिला एक जनामात्रै परेकी छन् ।
महासचिवमा देव गुरुङ, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा चयन भएका छन् ।
यस्तै उपमहासचिवमा हरिबोल गजुरेल, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, मात्रिका यादव र शक्ति बस्नेत रहेका छन् ।
सचिवमा गणेश साह, दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की र डिलाराम आचार्यको नाम पारित भएको छ । यस्तै, कोषाध्यक्षमा केन्द्रीय कार्यालय मुख्यसचिव श्रीराम ढकाललाई बनाइएको छ ।
विशेष महाधिवेशनसम्मका लागिमात्रै पदाधिकारीलाई पूर्णता दिइएको उपाध्यक्ष कृष्णबहादुर महराले बताएका छन् । तर, विशेष महाधिवेशन कहिले गर्ने भन्नेबारे यकिन नभएको उनको भनाइ छ । महाधिवेशन सकिएपछिको पहिलो केन्द्रीय कमिटीको अपुरो बैठकबाट दाहाल अध्यक्षमा चयन भएका थिए ।
महासचिवका दावेदार रहेका जनार्दन शर्माले भने पदाधिकारी चयनप्रति असन्तुष्टि जनाएका छन् । नेता शर्माले आफू यो प्रक्रियामा असहमत रहेको बताएको जनाइएको छ ।