कांग्रेस नेता प्रदीप गिरिको निधन
अखबार टुडे
प्रकाशित:
२०७९, ४ भाद्र

काठमाडौं, ४ भदौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । प्रतिनिधिसभा सदस्य समेत रहेका गिरिको उपचारको क्रममा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा शनिबार राति निधन भएको हो ।

नेता गिरीको शनिबार (आज) राति ९ः ३६ मा निधन भएको अस्पतालका एक अधिकारीले जनाए । काँग्रेसका नेता तथा समाजवादी चिन्तकसमेत रहेका उनी लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचार पश्चात् केही महिनाअघि मात्र नेपाल फर्किएका थिए ।

घाँटीको क्यान्सर भएपछि भारतमा गएर शल्यक्रिया गरेका सांसद गिरि गत ९ साउनमा मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । डा.पंकज बर्मन नेतृत्वको चिकित्सक टोली उनको उपचारमा संलग्न रहेको थियो ।

उनलाई शुक्रबार भेन्टिलेटरबाट निकालेर आइसियुमा राखिएको थियो । विगत तीन सातादेखि गिरीको उपचार भइरहेको थियो । शनिबार मात्र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारी उनलाई भेट्न अस्पताल पुगेका थिए । सोक्रममा उनको उपचारका संलग्न चिकित्सकले नेता गिरिलाई निमोनिया समेत देखिएको बताएका थिए ।

गिरि २०१७ सालबाटै नेपाली राजनीतिमा लागेका थिए । बुवा मित्रलाल गिरि कांग्रेसको राजनीतिमा सक्रिय भएको हुनाले उनी राजनीति सानै उमेरदेखि सक्रिय थिए ।

राजनीतिक संघर्षका क्रममा २०२५ सालमा १८ महिना र २०४२ सालमा झण्डै एक वर्षसमेत गरि हालसम्म कुल चार वर्ष उनले जेल जीवन बिताइसकेका छन् ।

उनी २०२४ सालमा नेपाल छात्र संघ (बनारस)को निर्वाचित उपाध्यक्ष थिए । २०५१ सालको संसदीय निर्वाचनमा सिरहा क्षेत्र नं. ५ बाट निर्वाचित गिरिले २०५६ को संसदीय निर्वाचनमा समेत भाग लिएका थिए । व्यवस्थापिका संसद्मा उनले नेपाली काङ्ग्रेस, प्रजातान्त्रिकका तर्फबाट प्रतिनिधित्व गरेका थिए ।

भारत, जवाहरलाल नेहरु विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रका स्नातकोत्तर गिरि अध्ययनमा विशेष रुचि राख्थे ।

प्रतिक्रिया