काठमाडौं, ४ भदौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटमा विश्वकै ठूलो डिजिटल प्लेटफर्म कम्पनी ‘क्रिक एचक्यु’सँग सम्झौता गरेको छ ।
शनिबार क्यानले विज्ञप्ति जारी गर्दै न्युजिल्याण्डको कम्पनी ‘क्रिक एचक्यु’सँग तीन वर्षका सम्झौता गरिएको जनाएको हो ।
विश्वको सबैभन्दा ठूलो डिजिटल प्लेटफर्म ‘क्रिक एचक्यु’सँगको साझेदारीले सबै तहका क्रिकेटका डिजिटलाइजेसन, लाइभ स्कोरिङ र स्ट्रिमिङलगायत प्राविधिक विकास ल्याउन मद्दत पुग्ने क्यानको विश्वास छ ।
क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले ‘क्रिक एचक्यु’सँगको साझेदारीले उत्साहित रहेको बताएका छन् । उनले यस सहकार्यले क्यानका लागि पूर्ण डाटाबेस विकास गर्न ठूलो मद्दत पुग्ने बताए ।
‘क्यानले क्रिक एचक्युसँग साझेदारी गरेकोमा हामी हर्षित छौँ । म विश्वस्त छु कि हाम्रो साझेदारीले क्यानको लागि एक पूर्ण डाटाबेस विकास गर्नमा धेरै अगाडि जानेछ जसले हाम्रा प्रशिक्षक, सहयोगी कर्मचारी र खेलाडीहरू अझ राम्रो प्रदर्शन गर्न मद्दत मिल्नेछ’ उनले भनेका छन् ।
यस्तै, क्रिक एचक्युका सीईओ इरिन वाल्सेले क्यानसँगको साझेदारीले आफू उत्साहित भएको बताएका छन् । यसले नेपाली क्रिकेटको डिजिटलाइज गर्न मद्दत गर्न तत्पर रहेको उनको भनाइ छ ।
उनले भनेका छन्, ‘नेपाल क्रिकेट संघसँगको हाम्रो साझेदारीबाट म धेरै हर्षित र साँच्चै उत्साहित छु । हामी उनीहरूलाई खेलका सबै तहहरूमा उनीहरूको क्रिकेट समुदायलाई डिजिटलाइज गर्न मद्दत गर्न तत्पर छौँ ।’
क्रिक एचक्यु सँगसँगै माईएक्सन रिप्लेले क्यानलाई आफ्ना खेलाडी र फ्यानहरूमा क्रिकेट समुदायको संलग्न हुन सक्ने डेटा संकलन गर्न मद्दत पुग्ने पनि उनले बताए ।