काठमाडौं, ३ भदौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा केन्द्रित हुन युवापंक्तिलाई निर्देशन दिएका छन् ।
शुक्रबार पार्टीको सहायक संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल)को राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले निर्वाचनमा पार्टीको पक्षमा एकढिक्का भएर लाग्न निर्देशन दिएका हुन् ।
अध्यक्ष प्रचण्डले भने, ‘चुनावी महासंग्र्राम अगाडि छ, त्यो संग्राममा युवाले महत्वपूर्ण भूमिका खेल्नुपर्नेछ । अब तपाइँहरु क्रान्तिकारीलाई विजयी गराउने र समाजवादी क्रान्तिको आधार तयार पार्नेमा केन्द्रित भएर लाग्नुपर्नेछ ।’
उनले राजनीतिक संघर्षका क्रममा युवाले खेलेको भूमिका अविस्मरणीय रहेको भन्दै आगामी निर्वाचनमा फौजका रुपमा खटिन पनि युवाहरुलाई आग्रह गरे । उनले भने, ‘युवा शान्तिपूर्ण फौजका रुपमा खटिनुपर्छ ।’ राजनीतिक सफलतासँगै अब समाजवादी क्रान्ति सम्पन्न गर्न युवाको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ छ ।
उनले युवा सक्रियताले माओवादीको नेतृत्वमा समाजवादी क्रान्ति सम्भव हुने बताउँदै भने, ‘माओवादीकै नेतृत्वमा समाजवादी क्रान्ति अगाडि बढ्ने विषयलाई कसैले पनि रोक्न सक्दैन ।’
माओवादी केन्द्र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न क्रियाशील रहेको जनाउँदै उनले जनताको विशाल समाजवादी सेना तयार गर्ने र उत्पादन वृद्धिको नयाँ अभियानमा पार्टी केन्द्रित भएको बताए ।
‘कम्युनिष्टलाई एकताबद्ध गर्ने अभियान केही कारणले असफल भएको छ, त्यो असफलताबाट हामी निरास हुनुहुँदैन’, उनले भने, ‘फेरि त्यसलाई सफल बनाउन अर्को ढङ्गबाट अगाडि बढाउनुपर्ने छ ।’ वामपन्थीलाई एकताबद्ध गर्दै कम्युनिष्ट आन्दोलनलाई एकीकृत बनाएर समाजवादको यात्रामा अगाडि बढ्ने पार्टीको नीति रहेको उनको भनाइ छ ।
‘आत्मनिर्भताका लागि नीति निर्माणमा युवा सहभागिता सुनिश्चित गरौँ, सुदृढ सङ्गठन विस्तारका लागि दोस्रो राष्ट्रिय भेला सफल पारौँ’ नारासहित शुक्रबार सुरु भएको भेलामा भौगोलिक तथा गैरभौगोलिक जिल्ला, प्रदेशबाट ६ सय प्रतिनिधिको सहभागिता रहेको छ ।