चुनावमा उम्मेदवार बन्न एकीकृत समाजवादीको ८ मापदण्ड !
अखबार टुडे
प्रकाशित:
२०७९, २ भाद्र

काठमाडौं, २ भदौ । नेकपा एकीकृत समाजवादीले प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा उम्मेदवार बन्न ८ मापदण्ड पूरा गर्नुपर्ने भएको छ ।

एकीकृत समाजवादी पार्टीले आगामी मंसिर ४ मा हुने निर्वाचनमा उम्मेदवार छनौटका लागि ८ वटा मापदण्ड तोकेको हो ।

मापदण्ड अनुसार उम्मेदवार बन्नका निम्ति सम्बन्धित व्यक्ति पार्टीको कार्यदिशा नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको हुनुपर्ने उल्लेख छ । यस्तै, विद्रोहमा सक्रिय भूमिका निर्वाह गरेको र पार्टी निर्माणमा योगदान गर्नेलाई समाजवादीले प्राथमिकता दिने भएको छ ।

उम्मेदवार बन्नका निम्ति पार्टी र क्रान्तिप्रितको निष्ठा र अनुशासनमा दृढ रहेको हुनुपर्नेछ । यस्तै आर्थिक एवं नैतिक आचरण राम्रो रहेको हुनुपर्ने छ । समाजवादीले सिफारिस गर्ने उम्मेदवार जनतामा स्थापित एवं लोकप्रिय हुनुपर्ने मापदण्ड तोकेको छ । चुनाव लड्नका निम्ति स्वच्छ छवि र सुशासनको पक्षपाती हुनुपर्नेछ ।

समाजवादीले उम्मेदवारको कार्यक्षमताको पनि मूल्यांकन गर्ने बताएको छ। उम्मेदवार छनौट गर्दा समावेशी समानुपातिक आधारमा गरिने समाजवादीले निर्णय गरेको छ ।

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटीले भदौ १० गतेभित्र जिल्ला कमिटीमा उम्मेदवार सिफारिस गर्नुपर्नेछ । यस्तै जिल्ला कमिटीमा प्राप्त सिफारिसका आधारमा प्रदेश कमिटीमा १२ गतेभित्र सूची पठाउन समाजवादीले भनेको छ।

प्रदेश कमिटीले भदौ १५ गतेभित्र केन्द्रमा सिफारिस पठाउनुपर्ने छ भने केन्द्रीय कमिटीले भदौ २० गतेभित्र उम्मेदवारको टुंगो लगाउने समाजवादीको सचिवालयले निर्णय गरेको छ ।

प्रतिक्रिया