ट्विटरमा सरकारको विरोध गरेको आरोपमा ३४ वर्ष जेल सजाय
अखबार टुडे
प्रकाशित:
२०७९, २ भाद्र

साउदी, २ भदौ (एजेन्सी) । सामाजिक सञ्जाल ट्विटरमा सरकारको विरोध गरेको र असन्तुष्टहरुको ट्विटलाई रिट्विट गरेको आरोपमा साउदी अरबमा एक जनालाई ३४ वर्षको जेल सजाय सुनाइएको छ ।

त्यहाँको एक अदालतले बेलायतको लिड्स विश्वविद्यालयमा पढिरहेकी ३४ वर्षीया सल्मा अल–सेहाबलाई ३४ वर्ष जेल सजाय सुनाएको हो ।

द गार्डियनका अनुसार उनीमाथि इन्टरनेटका माध्यमबाट सार्वजनिक शान्ति खलबल्याएको र राष्ट्रिय सुरक्षालाई खलल पु¥याएको आरोप छ ।

उनले निर्वासनमा रहेका अहिलेको साउदी सरकार विरोधीहरूका ट्विटलाई कहिलेकाहीँ रिट्विट गर्थिन् । उनको ट्विटर एकाउन्टमा २५९७ जना फ्लोअर्स रहेका छन् ।

पिएचडी गर्न बेलायत गएकी उनी सन् २०२० को डिसेम्बरमा आफ्ना श्रीमान् र दुई छोराछोरीलाई पनि बेलायत लैजानका लागि साउदी फर्किएकी थिइन् ।

तर उनलाई प्रहरीले पक्राउ गरेर सोधपुछ थालेको थियो । यसबारे जिज्ञासा राख्दा ट्विटरले कुनै प्रतिक्रिया नदिएको गार्डियनले उल्लेख गरेको छ ।

प्रतिक्रिया