नागरिकता विधेयक टाउको गनेर टुंगो लगाउने विषय होइन : ज्ञवाली
अखबार टुडे
प्रकाशित:
२०७९, २ भाद्र

काठमाडौं, २ भदौ । नेकपा एमाले सांसद प्रदीप ज्ञवालीले नागरिकता विधेयक सर्वस्वीकार्य बनाउनुपर्ने बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक पुनर्विचार गर्नका लागि संसद्मा फिर्ता गरेर सर्वस्वीकार्य बनाउने अवसर दिएको ज्ञवालीले बताए ।

राष्ट्रपतिले दिएको अवसरलाई सदुपयोग गर्नुपर्ने र सांसदहरूको टाउको गणना गरेर टुंगो लगाउन नहुने ज्ञवालीको भनाइ छ ।

बिहीबार प्रतिनिधिसभामा बोलदै ज्ञवालीले भने, ’राष्ट्रपतिले आमाको गरिमा, प्रादेशिक पहिचान या अन्य यावत प्रश्नहरूलाई एकमुष्ट समाधान गरेर नागरिकता विधेयकलाई सर्वस्वीकार्य दस्तावेज बनाइयोस् भनेर अवसर दिनुभएको हो । यो टाउको गणनाबाट टुंग्याउने विषय होइन । समाज विभाजित भयो भने दुष्परिणाम पछिसम्म रहने छ ।’

नागरिकता विधेयक मधेसी समुदायसँग मात्रै जोडिएको विषय नभएको ज्ञवालीले बताए । उनले सिंगो राष्ट्रलाई प्रतिनिधित्व गर्ने, सबै भेग, सबै समुदाय र सबै जनताको समस्यासँग जोडिएको बताए । निश्चित समुदायसँग जोडेर नागरिकता विधेयकलाई राजनीतिकरण गरिएको ज्ञवालीको भनाइ थियो ।

नागरिकता विधेयक छिटो टुंगो लगाउन प्रमुख प्रतिपक्ष रचनात्मक ढंगले सहयोगले गर्ने तर सत्तापक्षले जबर्जस्ती गर्न नहुने उनले बताए ।

प्रतिक्रिया