मेरो २० अर्ब सम्पति कहाँ छ ? पत्ता लगाउनेलाई शतप्रतिशत दिन्छु: ओली
अखबार टुडे
प्रकाशित:
२०७९, १ भाद्र

काठमाडौं, १ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग २० अर्ब सम्पत्ति छ भनेर भ्रम फैलाउन खोजेको बताएका छन् ।

बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा सम्बोधन गर्दै उनले कुनै व्यक्तिले टेलिभिजन अन्तर्वार्ताका क्रममा आफूसँग २० अर्ब रुपैयाँ रहेको र त्यो रिजर्भ बैंकमा रहेको दावी गरेको उल्लेख गर्दै सो पैसा जसले पत्ता लगाउँछ उसैलाई सबै दिने बताए ।

अध्यक्ष ओलीले भने, ‘२ खरब छ रे केपी ओलीसँग, २ खरब त हैन २० देखि ४० अरब छ केपी ओलीसँग । कहाँ छ भन्दा रिजर्भ बैंकमा छ । उसले भनेको । सम्पत्ति पत्ता लगाइदियो भने ९९ प्रतिशत हैन, शतप्रतिशत म उसकै नाममा गरिदिन्छु ।’

उनले कसैले खर्च दिएर दैनिक ज्यालादारीमा आफूविरुद्ध त्यस्ता कुरा बोल्न लगाएको बताए । त्यस्ता व्यक्तिले समाजमा भ्रम छर्ने र त्यस्ता व्यक्तिहरु चरा, मुसा, बाँदर जस्ता चाराका लागि बाँचेको भन्दै व्यङ्ग्य गरे ।

उनले देशका लागि एमाले महान उद्देश्य बोकेर अघि बढेको उल्लेख गर्दै त्यसको विरुद्ध शक्ति लागिपरेको बताए ।

प्रतिक्रिया