काठमाडौं, १ भदौ । पानी ठानेर एसिडले मुख धुँदा रोल्पा रुम्टीगढी गाउँपालिका वडा नं. ३ का वीरबहादुर घर्ती घाइते भएका छन् ।
मदिरा सवेन गरेका ५३ बर्षीय घर्तीले पानी ठानेर ५ लिटरको ग्यालिनमा राखेको एसिड खन्याएर मुख धोएको सल्यान जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काले बताए ।
उनका अनुसार अनुहार र टाउको तेजावले पोलेर घाउ भएको छ । प्रहरीका अनुसार यो घटना बुधबार मध्यान्ह १२ बजेतिरको हो ।
घाइतेलाई उपचारका लागि रूकुम पश्चिमको जिल्ला अस्पताल चौरजहारीतर्फ पठाउने प्रयास भइरहेको खड्काले बताए । प्रहरीले तीन लिटर एसिडसहितको ग्यालिन बरामद गरेको छ भने थप अनुन्धान गरिरहेको डिएसपी खड्काले जानकारी दिए ।
घर्ती विगत ६ महिनादेखि सल्यानको कुमाख गाउँपालिका वडा नं. ३ स्थित जयराम बुढाथोकीको घरमा बस्दै आएका छन् । घाइते घर्तीले गंगा रेजिन एण्ड टपअप खोटो संकलन कम्पनीका लागि काम गर्दै आएका थिए । सल्लाको रूखबाट खोटो संकलनका लागि एसिड प्रयोग गर्ने गरिन्छ ।