युएईमा भव्य कार्यक्रमबीच मनाइयो अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस (फोटो फिचरसहित)
अखबार टुडे
प्रकाशित:
२०७९, ३१ श्रावण

दुवई, ३१ साउन । नेपाल आदिवासी जनजाती महासंघ, युएई (नेफिन)ले २८औँ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।

संयुक्त राष्ट्रसंघले तोकेको ‘आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भुमिका’ भन्ने नाराका साथ महासंघ युएईको नेतृत्वमा १४ अगस्ट अर्थात यही गएको आइतबार २८औँ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस दुवईस्थित क्लव एभरेस्टको हलमा भव्य कार्यक्रमबीच मनाएको हो ।

कार्यक्रममा प्रमुख अथितिका रुपमा नेपाल एम्बेसीका राजदूत कृष्णप्रसाद ढकाल रहेका थिए ।

यस्तै, नियोग उप–प्रमुख बिशाल भट्टराई, श्रम कन्सुलर बन्धु सुबेदी, द्रितीय सचिव भुवन ओझा, नेपाल आदिवासी जनजाति महासंघ, प्रवास अन्तर्राष्ट्रिय समन्वय तदर्थ समितिका संयोजक पासाङ शेर्पा, नेपाली समाज युएईका अध्यक्ष गोविन्द ढकाल, अन्तर्राष्ट्रिय नेपाली समाज युएईका अध्यक्ष बाबुराम लोप्चन, प्रवासी नेपाली मञ्च युएईका अध्यक्ष टंकबहादुर गुरुङ, एनआरएनए, मध्यपुर्व संयोजक मनोजकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ युएई च्याप्टरका अध्यक्ष लक्ष्मण खनाललगायतको कार्यक्रममा उपस्थिति थियो ।

पिपल ट्राभल्सले प्रायोजन गरेको कार्यक्रममा माछापुच्छ्रे रेमिट, आईएमई, फिस्टेल ट्राभल्स, इन्फिनिटी फ्लावर्स, बर्नडिता ब्युटिकेयर, कंचनजंघा रेस्टुरेन्टलगायतका कम्पनीले सहकार्य गरेका थिए ।

कार्यक्रममा महासंघका आवद्ध संस्थाहरु वाईफिन युएई, फोनिज युएई, वैचारिक संगठनका प्रमुखहरु, जिल्ला संस्थाका प्रमुखहरु, नेपाल आदिवासी जनजाति कलाकार महासंघ युएईका कलाकारर पत्रकारहरुको उपस्थिति थियो
कार्यक्रमका संयोजक डम्बर लिम्बुको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा स्टल अवलोकन, मौलिक झाँकी प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा युएईमा कोभिड–१९ नेपालीहरुलाई उद्धार गर्ने विभिन्न व्यक्तिलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा पासाङ शेर्पा, टंक थापा मगर, अमन थापा मगर, सुनिता थापा मगर, मनोजकुमार श्रेष्ठ, गोपाल श्रेष्ठलाई ‘कोभिड हिरो अवार्ड–२०२२’ प्रदान गरिएको थियो ।

साथै, एस्पो–२०२० दुबई नेपाली पविलेन्सद्वारा नेफिन युएईका कलाकारलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा बिशेष अथिति नियोग उप–प्रमुख भट्टराई, प्रवासी नेपाली मञ्च युएईका अध्यक्ष गुरुङ, नेफिन प्रवास अन्तर्राष्ट्रिय समन्वय तदर्थ समिति संयोजक पासाङ शेर्पालगायतले आदिवासी जनजातीबारे धारणा राखेका थिए ।

कार्यक्रममा ‘मिस एण्ड मिस्टर युएई’ प्रयोगिता समेत आयोजना गरिएको थियो । जसमा केशव महतोले मिस्टर युएईको उपाधि हासिल गरेका छन् भने सीमा राई मिसतर्फको उपाधि जित्न सफल भइन् । कार्यक्रममा विभिन्न सांगीतिक प्रस्तुतिबाट उपस्थितलाई मनोरञ्ज प्रदान गरिएको थियो ।

नेफिन युएईका अध्यक्ष बिजयालक्ष्मी राईको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा उपस्थित अतिथि तथा दर्शकलाई धन्यवादसहित कार्यक्रमको उद्देश्यबारे नेफिन युएईकी अध्यक्ष बिजयालक्ष्मी राईले प्रष्टाएकी थिइन् ।

प्रतिक्रिया