फिफाद्वारा भारतीय फुटबलमाथि प्रतिबन्ध, क्लब तथा राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने
अखबार टुडे
प्रकाशित:
२०७९, ३१ श्रावण

काठमाडौं, ३१ साउन (एजेन्सी) । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतीय फुटबल संघ (एआईएफएफ) लाई प्रतिबन्ध लगाएको छ ।

बाहिरी शक्ति हावी भएको र नियमहरुको गम्भीर उल्लंघन गरेको भन्दै फिफाले मंगलबार अनिश्चितकालीन प्रतिबन्ध लगाएको हो ।

भारतको सर्वोच्च अदालतले गएको मेमा एआईएफएफलाई विघटन गरेर तीन सदस्यीय तदर्थ समिति बनाई खेलको व्यवस्थापन, विधान संशोधन र १८ महिनादेखि हुन नसकेको निर्वाचन गराउने जिम्मेवारी दिएको थियो । तर फिफाले भने पटक–पटक यस्तो नगर्न चेतावनी दिँदै आएको थियो ।

यस्तै एआईएफएफका अध्यक्ष पटेलले नयाँ निर्वाचन गराउँदै डिसेम्बर २०२० मै बिदा लिनुपर्ने थियो। भारतमा कुनै पनि खेलकुद संघमा तीन कार्यकालभन्दा बढी अध्यक्ष हुन पाइँदैन ।

यसकारण १२ वर्ष एआईएफएफको अध्यक्ष बनिसकेका पटेलले नयाँ निर्वाचन गराउनुपर्ने थियो । तर उनले अदालतमा मुद्दा विचाराधीन रहेको कारण बनाउँदै निर्वाचन गराउन आनाकानी गरिरहेका थिए ।

त्यसपछि एसियन फुटबल महासंघका महासचिव विन्डसर जोनको नेतृत्वमा फिफा तथा एएफसीका प्रतिनिधिले भारत भ्रमण गरी सरोकारवालासँग भेटवार्ता गरेका थिए ।

फुटबलका सबै सरोकारवालासँग छलफलपछि फिफाले जुलाईको अन्त्यसम्म विधान संशोधन गरी आउँदो सेप्टेम्बर १५ सम्म निर्वाचन गराउन भनेको थियो ।

तर, गएको बुधबार भारतीय अदालतले तुरुन्तै निर्वाचन गराउन आदेश दिएपछि विवाद थप चर्किएको हो । फुटबलको निकायलाई स्वतन्त्र चुनाव गराउन वातावरण नदिएपछि फिफाले प्रतिबन्ध लगाएको हो ।

फिफाको यस निर्णयसँगै भारतले अब अन्तर्राष्ट्रिय रुपमा क्लब तथा राष्ट्रिय टोलीको प्रतियोगिता खेल्ने छैन । भारतका क्लबले पनि एएफसीको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन् ।

भारतले अक्टोबरमा आयोजना गर्ने तयारी गरेको यू–१७ महिला विश्वकप पनि अब अन्यत्र सर्ने भएको छ । फिफाका अनुसार अब एआईएफएफमा आफ्नै कमिटीले कार्यसम्पादन सुरू गरेपछि मात्र प्रतिबन्ध फुकुवा हुनेछ ।

यसैबीच, महिला साफच्याम्पियनसिप फुटबलमा साविक विजेता भारतले साफ महिला च्याम्पियनसिप खेल्न नपाउने भएको छ ।

महिला साफ भदौ २९ देखि असोज ३ सम्म काठमाडौंमा हुँदैछ । सन् २०१० देखि सुरु भएको महिला क्षेत्रीय प्रतियोगिता अहिलेसम्म भारतबाहेक अन्य देशले जित्न सकेका छैनन् । पाँचमध्ये चारपल्ट फाइनलमा उसले नेपाललाई पराजित गरेको थियो ।

प्रतिक्रिया