बुटवलको एक होटलमा महिला र पुरूष मृत भेटिए
अखबार टुडे
प्रकाशित:
२०७९, ३१ श्रावण

बुटवल, ३१ साउन । रुपन्देहीको बुटवलस्थित एक होटलमा महिला र पुरूष मृत भेटिएका छन् ।

बुटवलको तिनाउ पुल नजिकै फूलबारी चोकमा रहेको स्याङजा कारीकोटे होटलको कोठा नं. १३४ मा महिला पलङमा उत्तानो परेको अवस्थामा र पुरूष कोठाको पंखामा झुण्डिएको अवस्थामा सोमबार बिहान मृत फेला परेका हुन् ।

धादिङको कुम्पुर घर भएका अन्दाजी ३५÷३६ वर्ष उमेरका सिताराम भुजेल र दाङ घर भएकी अन्दाजी ३३ वर्षकी पुष्पा मृत फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए ।

महिलाको थर र घरको पूरा ठेगाना खुल्न सकेको छैन । तर उनका श्रीमान विदेशतिर रहेको र एक÷डेढ महिनादेखि हराएको भन्ने सुन्नमा आएको प्रहरी निरीक्षक घिमिरेले बताए ।

दुवै जनाको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको र रिपोर्ट आउन बाँकी रहेको उनले बताए । घटनाको अनुसन्धान चलिरहेको प्रहरी निरीक्षक घिमिरेले बताए ।

प्रतिक्रिया