वामदेव पनि माओवादीको चिन्ह ‘हँसिया हथौडा’ बाट चुनाव लड्ने
अखबार टुडे
प्रकाशित:
२०७९, ३१ श्रावण

काठमाडौं, ३१ साउन । राष्ट्रिय सभा सदस्य वामदेव गौतम पनि प्रतिनिधिसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह ‘हँसिया हथौडा’ लिएर उठ्ने भएका छन् ।

मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले वामदेव गौतमलाई आफ्नो चुनाव चिन्ह प्रयोग गर्न दिने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

२०७४ को प्रतिनिधि सभा चुनाव बर्दिया–१ बाट हारेका वामदेव पछि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा नियुक्त भएका थिए ।

यसैबीच, माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले आसन्न निर्वाचनमा एउटै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने जानकारी आज निर्वाचन आयोगलाई गराउँदै छन् ।

आज दिउँसो १ बजे माओवादी केन्द्र र नेसपाका नेताहरु निर्वाचन आयोगमा गएर एउटै चिह्न लिएर चुनावमा भाग लिने जानकारी गराउने माओवादी केन्द्रका कार्यालय जनाएको छ ।

माओवादी केन्द्र र नेसपाबीच मंसिर ४ को प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा एउटै चुनाव चिह्न र साझा घोषणा पत्र बनाएर भाग लिने सहमति भइसकेको छ ।

प्रतिक्रिया