काठमाडौं, ३० साउन । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी प्रदेश र प्रतिनिधिसभा चुनावमा गठबन्धन गर्ने बताएका छन् ।
पार्टीबाट निर्वाचित भएका स्थानीय पालिका प्रमुख र उपप्रमुखहरुको अभिमुखीकरण कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै देउवाले भने, ‘स्थानीय चुनावमा पनि तालमेल गरेर सफलता पायौं, फेरि गठबन्धन गरेर सफलता हासिल गर्नुछ ।’
देवाले ४ मंसिरको चुनावबाट कांग्रेसलाई सबभन्दा ठूलो पार्टी बनाउनुपर्ने बताए । २०७४ सालको निर्वाचनमा एक्लै लड्दा कांग्रेसले राम्रै मत पाएपनि अरुले गठबन्धन गरेका कारण जित्न नसकेको स्मरण गराए ।
उनले पार्टीमा कसैलाई पनि काखापाखा र भेदभाव नगर्ने बताए । तर गठबन्धन छँदैछ, चुनाव जितिहाल्छौं, टिकट चाहिन्छ नभन्न समेत आग्रह गरे । कांग्रेस सभापति देउवाले भने, ‘बढी सिटमा उम्मेदवारी दिने भन्दा पनि बढी सिट जित्नु ठूलो हो ।’
सभापति देउवाले स्थानीय तह सक्रिय भएको ६ वर्ष पुग्न लाग्दा पनि गाउँ गाउँमा सिंहदरबार अझै पुग्न नसकेको बताए । स्थानीय जनप्रतिनिधिले जनातको मन जित्ने काम गर्न नसकेकोमा उलने गुनासो गरे ।
उनले अहिलेको गठबन्धन सरकारले आगामी चुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा गराउन कटिबद्ध रहेको भन्दै जनतामा गएर जनताको मन जित्ने काम गर्न निर्देशन दिए ।
‘जनता भन्दा ठूलो कोही छैन। हामीले जनताको विश्वास जित्नुपर्छ। म सबै साथीहरूलाई जनतामा जानू र जनताको विश्वास लिनु र सहयोग पाउनु भन्न चाहन्छु’, उनले भने।