
काठमाडौं, ३० साउन । विवाहित, गर्भवती, आमा भइसकेका तथा सम्बन्धविच्छेद गरेका महिलाले पनि ‘मिस युनिभर्स नेपाल’ मा सहभागिता जनाउन पाउने भएका छन् ।
आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आगामी वर्षदेखि ती नियम लागू हुने राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठले बताइन् ।
श्रेष्ठले भनिन्, ‘मैले सधैं मिस युनिभर्सलाई मन पराउनुको एउटा कारण समावेशिता हो र यो पछिल्लो परिवर्तन साहसी, सशक्त र सुन्दर नेपाली महिलाहरुको लागि सुनौलो अवसर हुनेछ । हामी अर्को वर्ष यो नियम लागू गर्न तत्पर छौं ।’
गत वर्षको संस्करणमा पारालैंगिक समुदायका व्यक्तिले पनि प्रतिस्पर्धाको मौका पाएका थिए ।
अगस्ट २५ तारिखमा काठमाडौंमा आयोजना हुन लागेको ‘मिस युनिभर्स नेपाल’का लागि अन्तिम प्रतिस्पर्धामा २० जना युवतीहरूले प्रतिस्पर्धा गर्ने भएका छन् । उक्त कार्यक्रममा २० जना प्रतिस्पर्धीहरू रातो कार्पेटमा हिँडेका थिए ।
उत्कृष्ट २० मध्ये सोसल इम्प्याक्टर लिडर विधाको विजेता र पिपुल च्वाइस अवार्डको विजेताले उत्कृष्ट १० मा सिधै प्रतिस्पर्धा गर्न पाउनेछन् ।
यस वर्षको ’मिस युनिभर्स नेपाल’को विजेताले १० लाख रुपैयाँ र इलेक्ट्रिक स्कुटर प्राप्त गर्ने जानकारी दिइएको छ । यस्तै विजेताले ७१ औं श्रृङ्खलाको ’मिस युनिभर्स’मा समेत भाग लिन पाउनेछन् ।