रुसद्वारा उत्तर कोरियासँग सम्बन्ध विस्तार गर्ने घोषणा
अखबार टुडे
प्रकाशित:
२०७९, ३० श्रावण

काठमाडौं, ३० साउन । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियासँग सम्बन्ध विस्तार गर्ने घोषणा गरेको छ ।

उत्तर कोरियाको स्वतन्त्रता दिवसका अवसरमा आफ्ना समकक्षी किम जङ अनलाई पत्र पठाउँदै पुटिनले विस्तृत र रचनात्मक द्विपक्षीय सम्बन्ध विस्तार गर्ने घोषणा गरेका हुन् ।

उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम केसीएनएका अनुसार पुटिनले द्विपक्षीय सम्बन्धको विस्तारले दुई देशका स्वार्थहरूको जगेर्ना गर्ने धारणा राखेका छन् ।

उक्त पत्रमा दुई देशबीचको ’रणनीतिक र कार्यनीतिक साझेदारी, समर्थन र ऐक्यबद्धता’ नयाँ उचाइमा पुगेको जनाएको छ । साथै साझा मोर्चामा देखिएको साझेदारीले शत्रु फौजको सैनिक जोखिम र उत्तेजनालाई कमजोर बनाएको जनाइएको छ ।

त्यसको जबाफमा किमले दुई देशबीचको मित्रता दोस्रो विश्वयुद्धको समयमा जापानलाई पराजित गर्दादेखि कायम रहेको टिप्पणी गरेका छन् ।

आफ्नो पत्रमा किमले रुस–उत्तर कोरियाको मित्रताले जापानविरोधी युद्धमा आकार ग्रहण गरेको र त्यो अझ समृद्ध र विकसित भएको धारणा राखेका छन् । उनले मित्रता अझै बलियो बन्ने विश्वास व्यक्त गरे ।

सोभियत सङ्घ कुनै बेला उत्तर कोरियाको प्रमुख साझेदार रहेको थियो र उसले प्योङ्याङलाई आर्थिक सहयोग, सांस्कृतिक आदानप्रदान र वैदेशिक सहयोग उपलब्ध गराउने गर्थ्यो ।

तर उक्त सम्बन्ध सोभियत सङ्घको विघटनसँगै खस्किएको थियो र सन् २००० को दशको सुरुमा पश्चिमा जगतसँग रुसको सम्बन्ध चिसिँदै गएपछि बिस्तारै उक्त सहकार्य अघि बढेको थियो ।

गएको जुलाईमा रुसले पूर्वी युक्रेनमा रहेका दुई पृथकतावादी राज्यलाई स्वतन्त्र घोषणा गरेपछि तिनलाई आधिकारिक रूपमा मान्यता दिने थोरै देशहरूमध्ये उत्तर कोरिया पनि एक हो । – बीबीसीबाट

प्रतिक्रिया