
काठमाडौं, ३० साउन । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गरेका छन् ।
नागरिकता विधेयक राष्ट्रपतिले पुनः संसदमै फिर्ता पठाएको भन्दै तरूण दलले आइतबार एक विज्ञप्ति जारी गर्दै राजीनामा मागेका हुन् ।
विधेयकमा अराजनीतिक बाहना र प्रपञ्च देखाई प्रमाणीकरणविना प्रतिनिधि सभामा फिर्ता पठाइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको तरुण दलले जनाएको छ ।
अध्यक्ष विद्वान गुरूङले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नागरिकताविहीन नेपाली जनतामाथिको यो अपमान घोर निन्दा र भर्त्सना गर्दछ । राष्ट्रको गम्भीर र जनताको जीवनसँग जोडिएको विषयमा खेलवाड गर्ने, बेवास्ता गर्ने र सीमित राजनीतिक पार्टीको चौघेरामा बसेर पदको मर्यादामा नरहने राष्ट्रपतिले नैतिकताको उच्च उदाहरण बनेर राजीनामा दिनु उचित हुने अन्यथा महाअभियोगबाट पदच्यूतसमेत गर्न संसद र सरकारसँग तरूण दल केन्द्रीय समिति आग्रह गर्दछ।’