नयाँ तलबमान र ग्रेड लागू गर्ने सरकारको निर्णय, अरु के छ ?
अखबार टुडे
प्रकाशित:
२०७९, २९ श्रावण

काठमाडौं, २९ साउन। सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी आर्थिक वर्ष २०७९/८० को नयाँ तलवमान र ग्रेड सरकारले स्वीकृत गरेको छ ।

सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि २०७९ साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान एवम् ग्रेड स्वीकृत गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

साउन २६ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयअनुसार सरकारले सप्तकोसीको बाढीबाट प्रभावित क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

यस्तै बिहीबारकै बैठकले विश्व बैंकबाट नेपालको हरित उत्पादनशील र समावेशी विकासका लागि प्राप्त हुने १२ अर्ब ७० करोडका ऋण सहायता स्वीकृत गरेको उनले बताए ।

मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७८/७९ का लागि मन्त्रालय अन्तर्गतका विभिन्न आयोजनाहरुका लागि राजपत्रांकित श्रेणीका पदहरुको दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

भदौ ९ मा संयुक्त राष्ट्रसंघको आयोजनामा बैककमा हुने कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका सचिवलाई स्वीकृति दिने निर्णय पनि बैठकले गरेको छ ।

जापान सरकारबाट पूर्वी तराईको सिंचाइ प्रणाली पुनःस्थापना आयोजनाका लागि प्राप्त हुने जापानी ऐन २२ सय ५६ मिलियन करिब २ अर्ब १३ करोड ६४ लाख अनुदान सहायता पनि सरकारले स्वीकार गरेको छ ।

नसिम राइनको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरी नेपाली नागरिकबाट हटाउने र मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरीको सेवा आयोगको सदस्य तोक्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।

प्रतिक्रिया