संसदमा उठ्यो प्रश्न- राष्ट्रपतिजस्तो गरिमामय पद राष्ट्रको हुन्छ कि पार्टीको ?
अखबार टुडे
प्रकाशित:
२०७९, २९ श्रावण

काठमाडौं, २९ साउन । संसदमा राष्ट्रपतिमाथि गम्भीर प्रश्न उठेको छ । सांसद लीलादेवी सिटौलाले राष्ट्राध्यक्षको जिम्मेवारीमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीबारे गम्भीर प्रश्न उठाएकी हुन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा जनता समाजवादी पार्टी ९जसपा०की सांसद सिटौलाले राष्ट्रपतिले कानुन प्रमाणीकरण गर्दासमेत ‘कुन पार्टीको सरकारले पठाएको’ भन्ने व्यवहार देखाएको भन्दै यसले उक्त पदमाथि नै गम्भीर प्रश्न उठाएको बताइन् ।

सांसद सिटौलाले केपी शर्मा ओली नेतृत्वको सरकारले संसदमा नागरिकता विधेयक ल्याएपनि तीन वर्षसम्म रोकेर राख्दा प्रधानमन्त्रीको कुर्सी हल्लिएको र त्यसपछि अध्यादेश जारी गरेको बताइन् । उनले अहिले त्यही अध्यादेश विधेयकका रूपमा पारित गरेर पठाउँदा राष्ट्रपति भण्डारीले दलीय राजनीति गरेको आरोप लगाइन् ।

उनले भनिन्, ‘ओलीजीको सरकार छँदा नागरिकता विधेयक हिजो संसदमा ल्याउनुभयो । समितिमा पठाएपछि २२ महिनासम्म संसद्मा ल्याउनु भएन । जब प्रधानमन्त्रीको कुर्सी हल्लियो, उहाँले अध्यादेशमार्फत नागरिकता ऐन ल्याउनुभयो । हाम्रो सम्माननीय राष्ट्रपतिले त्यही दिन लामोहर लगाइदिनुभयो ।’ त्यही अध्यादेश विधेयकका रूपमा संसद्बाट पारित गरेर पठाउँदा राष्ट्रपतिले दलीय राजनीति गरिरहेको उनले जिकिर गरिन् ।

सांसद सिटौलाले भनिन्, ‘आज त्यही अध्यादेशको रूपमा केपी शर्मा ओलीले ल्याउनुभएको विधेयक संसद्मा आएर पास भएर गयो । तर, अहिलेसम्म राष्ट्रपतिले लामोहर लाउनुभएको छैन । विडम्बना, राष्ट्रपतिजस्तो गरिमामय पद राष्ट्रको हुन्छ कि कुनै पार्टीको हुन्छ ?’

धेरै व्यक्ति नागरिकताविहीन हुँदा पनि राष्ट्रप्रमुख र प्रतिपक्ष दलले राजनीति गरिरहेको उनको आरोप छ । नागरिकता ऐन आफूले चाहेजस्तो बनाउन सरकारमा छँदाको तीन वर्ष काम नगरेको भन्दै ओली र नेकपा एमालेलाई ऐनका विषयमा विमति राख्ने नैतिकता नभएको समेत उनको भनाइ छ ।

प्रतिक्रिया