काठमाडौं, २९ साउन । विवेकशील साझा पार्टीलाई पुनर्गठन गर्ने नेता मिलन पाण्डेले बताएका छन् ।
आज एक विज्ञप्ति जारी गर्दै पार्टीलाई स्थापनाको मर्म अनुरूप राष्ट्रिय भेलाबाट पुनर्गठन गर्ने बताएका हुन् ।
विवेकशील साझा पार्टीमा विचारभन्दा माथि देश दस्ताबेजले आम नागरिकको वैकल्पिक राजनीतिप्रतिको आशामाथि बेइमानी गरेको र यसको हिसाबकिताब इतिहासले राख्ने उनले बताए ।
उनले पूर्वअध्यक्ष मिश्रलाई पार्टीको स्थापना ‘राजतन्त्र’ ब्युँताउनकै लागि भएको हो भन्दै प्रश्नसमेत गरेका छन् ।
उनले भनेका छन्, ‘के हाम्रो पार्टीको स्थापना राजतन्त्र ब्युँताउन भएको थियो ? पार्टी स्थापनाको एक दशकसम्मको सदस्यहरूको मिहेनत राजतन्त्रको पक्षपोषणका लागि थियो ? नागरिकले अघिल्लो निर्वाचनमा दिएको मत के राजा बोक्न भनेर थियो ? व्यवस्था र संविधान भत्काउन भनेर थियो ? पक्कै थिएन । त्यसैले वैकल्पिक राजनीति माथिको यो घातलाई अब हामीले पार्टी पुनर्गठन गरेर सच्याउँदै अघि बढ्नुको विकल्प रहेन ।’
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएपछि नेतृत्व खाली थियो ।
लामो समयसम्म पार्टीको अध्यक्ष खाली भएपछि मिश्रले आफ्नै नेतृत्वमा पार्टी निर्वाचन आयोगमा दर्ता गर्न आग्रह गरेको चार दिनपछि नेता पाण्डेले पार्टी पुनर्गठनको घोषणा गरेका हुन् ।