सेयर बजारका बादशाह भारतीय अर्बपति झुनझुनवालाको निधन
अखबार टुडे
प्रकाशित:
२०७९, २९ श्रावण

मुम्बई, २९ साउन (एजेन्सी) । भारतीय सेयर बजारमा ‘बादशाह’को उपमा पाएका लगानीकर्ता राकेश झुनझुनवालाको निधन भएको छ ।

उनको आइतबार बिहान मुम्बईस्थित ब्रीच क्याण्डी अस्पतालमा ६२ वर्षको उमेरमा निधन भएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार हालै उनले आकासा एयरलाइन्समा लगानी गरेका थिए । यस कम्पनीमा २ अर्ब ६४ करोड भारु लगानी गरेका उनले ७० वटा जहाज किन्ने योजना बनाएका थिए ।

उनको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले पनि तस्वीर राख्दै शोक व्यक्त गरेका छन् ।

५ जुलाई १९६० मा जन्मिएका झुनझुनवाला मुम्बईमा हुर्केका थिए । सिडेनहम कलेजमा पढ्दै गर्दा झुनझुनवालाले सन् १९८५ देखि सेयर बजारमा पैसा लगानी गर्न थालेका थिए ।

झुनझुनवालाले मात्र ५ हजार भरतीय रुपैयाँको सानो पूँजीबाट सेयर बजारमा लगानी गर्न थालेका थिए । फोब्र्सका अनुसार अहिले उनको कुल सम्पत्ति ६ अर्ब डलर अर्थात् ४५ हजार ३२८ करोड भारतीय रुपैयाँ पुगेको छ ।

फोब्र्सका अनुसार, उनको सबैभन्दा मूल्यवान सूचीकृत होल्डिङ घडी र गहना निर्माता टाइटन हो, जुन टाटा समूहको हिस्सा हो । झुनझुनवालाको स्टार हेल्थ इन्स्योरेन्स, मेट्रो ब्रान्ड र कन्कर्ड बायोटेक जस्ता निजी कम्पनीहरूमा पनि सेयर छ ।

सन् १९८६ मा झुनझुनवालाले एउटा कम्पनीको ५ हजार सेयर किनेका थिए । उनले यी सेयरहरू प्रतिशेयर ४३ रुपैयाँमा किनेका थिए, तर तीन महिनामै एउटा सेयरको मूल्य बढेर १४३ रुपैयाँ पुग्यो ।

यो लगानी तीन गुणाभन्दा छिटो बनाउनु झुनझुनवालाका लागि सफलताको पहिलो सिँढी चढ्नु जस्तै थियो । त्यसैले झुनझुनवालालाई भारतको वारेन बफेट भनिन्छ ।

प्रतिक्रिया