न्यूयोर्कमा छुरा प्रहार गरिएका विश्व प्रसिद्ध लेखक रुस्दीको अवस्था गम्भीर : हमलाकारी को हुन् ?
अखबार टुडे
प्रकाशित:
२०७९, २८ श्रावण

काठमाडौं, २८ साउन । विश्व प्रसिद्ध लेखक सलमान रुस्दीमाथि अमेरिकाको न्यूयोर्कमा शुक्रबार आयोजित एक कार्यक्रममा छुरा प्रहार भएपछि उनको अवस्था गम्भीर छ । समाचारहरुमा जनाइएअनुसार रुस्दीको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हमलाका कारण उनको कलेजोमा गम्भीर असर परेको छ भने उनले एउटा आँखासमेत गुमाउनसक्ने बताइएको छ । समाचार संस्था एपीका अनुसार शुक्रबार एक साहित्यिक कार्यक्रममा भाग लिइरहेको अवस्थामा एक व्यक्तिले मञ्चमा उक्लिएर चक्कुले प्रहार गरेका थिए ।

अहिले उनी भेन्टिलेटरमा रहेको र बोल्न नसक्ने अवस्थामा रहेको उनका प्रतिनिधि एन्ड्रिउ वाइलीले एक विज्ञप्तिमा जनाएको बीबीसीले उल्लेख गरेको छ ।

उनीमाथिको हमलालाई लिएर विश्वभरिबाट प्रतिक्रिया आएको छ भने अमेरिकाका लगभग सबैजसो सञ्चारमाध्यममा उक्त खबरले प्राथमिकता पाएको छ । सन् १९८८ मा ‘द सेटनिक भर्सेस’ पुस्तक लेखेयता रुस्दीले इस्लामिक अतिवादीहरूबाट हत्याको धम्की खेपिरहेका थिए ।

बीबीसीले जनाएअनुसार रुस्दीमाथि हमला गर्ने न्यूजर्सीका हादी मतर नाम गरेका २४ वर्षीय सन्दिग्ध व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

ती सन्दिग्ध व्यक्तिले रुस्दी र उनीसँग प्रश्न सोधिरहेका व्यक्तिलाई पश्चिमी न्यूयोर्कस्थित शटोक्वा इन्स्टिच्यूशनमा हमला गरेको प्रहरीले जनाएको छ ।

‘सलमानले एउटा आँखा गुमाउन सक्ने देखिन्छ; उनको हातका नशाहरूमा नराम्ररी असर पुगेको छ र उनको कलेजोमा छुरा रोपिएको कारण त्यसले काम गरिरहेको छैन’ उनका एजेन्ट वायलीले भनेका कुरा उदृत गर्दै बीबीसीले लेखेको छ । समाचारमा जनाइएअनुसार प्रहरीले अझै हमलाको उद्देश्य र अभियोगहरू पुष्टि गरेको छैन ।

प्रहरीले हमला भएको केन्द्रमा पाएका विद्युतीय उपकरण र झोलाबारे अनुसन्धान गर्न छापा मार्ने आदेशका लागि प्रक्रिया थालेको छ । समाचार एजेन्सीहरुका अनुसार रुस्दीलाई घाँटी र पेटमा छुरा प्रहार गरिएको अधिकारीहरूले बताएका छन् ।

भारतमा जन्मिएका उपन्यासकार रुस्दी सन् १९८१ को मिडनाइट्स चिल्ड्रेन पुस्तकबाट चर्चामा आएका थिए । जुन पुस्तक यूकेमा मात्र १० लाखभन्दा धेरै संख्यामा बिक्री भएको थियो । तर, उनको चौथो पुस्तक सन् १९८८ मा छापिएको द सेटनिक भर्सेसले उनलाई झण्डै दश वर्ष लुकेर बस्न बाध्य पारिएको समाचारहरु आएका थिए ।

हमलाकारी को हुन् ?
अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार रुस्दीमाथि पेट र गर्धनमा चक्कु प्रहार गर्ने आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार हमलाकारी न्यू जर्सीका हादी मतर हुन् । उनको उमेर २४ वर्षको छ ।

यस्तै, बीबीसीका धर्म मामिला सम्पादक अलीम मकबुलले द सेटनिक भर्सेस छापिएपछि ३० वर्षभन्दा बढी समयदेखि सलमान रुस्दीले ज्यान मार्ने धम्की बेहोर्दै आएका छन् ।

रुस्दीले आफ्नो उपन्यासको मुख्य विषयवस्तु आप्रवासी अनुभव केलाउनु रहेको बताउँछन् । अलीमका अनुसार उनी केही मुश्लिमहरू पुस्तकमा पैगम्बर मोहम्मदबारे लेखिएका अंशबाट र कुरानमाथिका टिप्पणीबाट आहत भएका थिए ।

द सेटनिक भर्सेस लेखको जन्ममुलुक भारतमै सबभन्दा पहिले प्रतिबन्धित भएको थियो । त्यसपछि अरू मुलुकहरूले प्रतिबन्ध लगाएका थिए । इरानका आयातोल्लाह रुहाल्लाह खामेनेईले उनको कुख्यात फतवा जारी गरेका थिए ।

फतवामा उक्त पुस्तक प्रकाशित गर्ने काममा संलग्न सबैको हत्या गर्न भनिएको थियो र हत्यामा संलग्न हुने सबैलाई पुरस्कृत गर्ने भनिएको थियो । फतवा कहिले पनि औपचारिक रूपमा फिर्ता लिइएन र लिइएकोक छैनत ।

व्यापक विरोध भएको देखेपछि अचम्भित भएका सलमान रुस्दीले मुश्लिमहरूसँग क्षमा मागे र लुकेर बस्न थालेको बीबीसीका धर्म मामिला सम्पादक अलीमले उल्लेख गरेका छन् ।

उनका अनुसार ‘मिडनाइट्स चिल्ड्रेन’ भारतबारे थियो भने रुस्दीको तेस्रो उपन्यास सन् १९८३ मा प्रकाशित ‘’शेम’चाहिँ मुस्किलले लुकिरहेको पाकिस्तानबारे थियो । चार वर्ष पछि रुस्दीले ‘द ज्यागुअर स्माइल’ लेखे जुन निकारागुआको यात्रा विवरण थियो ।

बीबीसीका अनुसार हमलाकारीले आक्रमण किन गरे भन्ने कुरा अनुसन्धानका लागि एफबीआईको पनि मद्दत लिन लागिएको प्रहरीले जनाएको छ ।

सन्दिग्ध हमलाकारी हादी मतर एक्लै आएको बताइएको छ । सन्दिग्ध हादी मतर दौडँदै मञ्चतर्फ गएको र सलमान रुस्दीको घाँटी र पेटमा कम्तीमा एक एक पटक चक्कु प्रहार गरेको समाचारहरुमा जनाइएको छ ।

प्रतिक्रिया