तीजलाई लक्षित गर्दै ‘चस्मा ढल्काएर’ आइन् अमृता (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७९, २८ श्रावण

काठमाडौं, २८ साउन । गायिका अमृता लिम्बूले यसपालीको तीजलाई लक्षित गर्दै नयाँ गीत ल्याएका छन् । विशेषगरी पूर्वेली लोक तथा आधुनिक गीतमा जम्दै आएकी अमृताले ‘चस्मा ढल्काउँदै’ बोलको तीज गीत ल्याएकी हुन् । अमृताको यो पहिलो तीज गीत हो ।

‘चस्मा ढल्काएर’ गीतमा अमृता लिम्बू, किरण भुजेल, समीक्षा अधिकारी र मोहन मगरको स्वर रहेको छ । किरण के उप्रेतीको शब्दरचना रहेको यस गीतलाई पुष्कर सुनुवारले संगीत गरेका हुन् । ‘चस्मा ढल्काएर’ तीज गीत भएपनि फरक किसिमको रहेको छ । गीतले आधुनिकतासँगै तीजलाई पनि आधु्निक रुपमा ग्रहण गर्न थालेको सन्देश दिन्छ ।

करिब डेढ सयभन्दा बढी गीतमा स्वर दिइसकेकी पाँचथर रानीगाउँकी गायिका अमृता मोडल पनि हुन् । उनी राम्रो ब्यानरको फिल्ममा अफर आए अभिनय गर्ने बताउँछिन् । पहिलो पटक तीज गीत गाएपछि अमृताले भनिन्, ‘यो मेरो पहिलो तीज गीत हो । अहिलेसम्म तीज गीत गाएकी थिइनँ, तर यसपटक जुर्यो ।’

प्रतिक्रिया