काठमाडौं, २७ साउन । न्याय माग्दै आमरण अनसन बसेकी निहारिका राजपुतले राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास गरेकी छन् ।
दुई वर्षको छोरासहित शीतल निवास अगाडि पुगेकी निहारिकाले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाउन खोजेका हुन् ।
नेहारिकाले शारीरमा आगो लगाउन खोज्दाखोज्दै प्रहरीले नियन्त्रणमा लिएको थियो ।
साउन २० गतेदेखि न्यायको माग गर्दै बसन्तपुर डबलीमा आमरण अनसन सुरू गरेकी निहारिकाले आफ्नो मागको सुनुवाइ नभएको भन्दै आत्मदाहको योजना बनाएकी हुन् ।
निहारिका शुक्रबार दिउँसो बसन्तपुरबाट एक जना साथीसहित ट्याक्सी चढेर शीतल निवास पुगेकी थिइन् ।
उनले आफ्नो बच्चाको डिएनए जाँच गरिनुपर्ने माग राख्दै अनसन बसेकी हुन् । घटनाको अनुसन्धान सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी भएको भन्दै पुनः प्रारम्भदेखि जाँच गरिनुपर्ने उनको माग छ ।
आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेर त्यसको तस्बिर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको निहारिकाको भनाइ छ । गत आइतबार बिहान सर्वोच्च अदालत परिसरबाट पनि उनी पक्राउ परेकी थिइन् ।