कर्णाली करिडोर सडक निर्माणमा खटिएका एक सैनिकको लडेर मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७९, २७ श्रावण

सिमकोट, २७ साउन । कर्णाली करिडोर निर्माणका लागि हुम्लाको खार्पुनाथ गाउँपालिका–१ को लालिबगरमा खटिएका एक सैनिकको भिरबाट लडेर मृत्यु भएको छ ।

नेपाली सेनाको विकास कार्यदलमा कार्यरत सुर्खेतका प्राविधिक अमल्दार टीकाराम लामिछानेको मृत्यु भएको हो । प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार लामिछानेको भिरबाट झण्डै एक सय मिटर तल खसेर मृत्यु भएको हो ।

भिरबाट लडेर अर्को एक जना घाइते भएका छन् । कर्णाली करिडोर निर्माणका क्रममा भिर छिचोल्नका लागि बम विस्फोट गराउने मेसिन जाँच गर्न जाँदैगर्दा बिहीबार चिप्लिएर लामिछाने भिरबाट खसेका थिए ।

सँगै रहेका हरिराम विष्टलाई बचाउन खोज्दा लामिछानेको मृत्यु भएको प्रजिअ परियारले जनाएका छन् । घाइते विष्ट र लामिछानेको शव हेलिकप्टरमार्फत बिहीबार नै सुर्खेत लगिएको छ । टाउकोमा चोट लागेका विष्टको नेपालगञ्जस्थित सैनिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया