काठमाडौं, २६ साउन । नेकपा एमालेले आगामी चुनाव चुनौतीपूर्ण रहेको निष्कर्ष निकालेको छ । बिहीबार बसेको सचिवालय बैठकले आसन्न प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन चुनौतीपूर्ण रहेको निष्कर्ष निकालेको हो ।
चुनौतीपूर्ण रहे पनि निर्वाचनमा बहुमत ल्याउने गरी अघि बढ्नुको विकल्प नरहेको भन्दै अध्यक्ष केपी शर्मा ओलीले चुनावी तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।
अध्यक्ष ओलीले आगामी चुनावमार्फत् सरकारबाट कांग्रेस नेतृत्वलाई बिदाइ गर्ने गरी अघि बढ्नुपर्ने धारणा राखेका हुन् । उनले बैठकमा नेताहरुलाई ब्रिफिङ गर्दै जनतामाझ जाँदा कांग्रेस नेतृत्वको सरकारले मुलुकमा बर्बादी गरेको विषयलाई प्रमुख एजेन्डा बनाउनुपर्ने बताएका थिए ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भने, ‘कांग्रेसको नेतृत्वमा बनेको सरकारले मुलुकलाई बर्बादीको बाटोमा अघि बढाएको छ । एमालेको बहुमतबिना मुलुकको हित नहुने कुरा हामीले जनतालाई बुझाउनुपर्छ ।’
एमाले सचिव युवराज ज्ञवालीका अनुसार अध्यक्ष ओलीले एमालेले बहुमत ल्याउने गरी आन्तरिक तयारीमा ध्यान केन्द्रित गर्न आग्रह गरेका छन् ।
अध्यक्ष ओलीले अब सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गर्न आग्रह गर्दै पार्टीमा आउनेहरूलाई स्वागत गर्ने अभियानलाई तीव्रता दिने बताए । एमालेको बहुमतबिना मुलुकको समृद्धि सम्भव नहुने उनको भनाइ छ ।
यस्तै, बैठकले चुनाव केन्द्रित अभियानका निम्ति अध्यक्ष ओलीकै नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । यस कमिटीले निर्वाचन अभियानमा कहाँ कसलाई खटाउने भन्ने निर्णय लिनेछ ।
निर्वाचन परिचालन कमिटीमा परिचालन कमिटीमा केन्द्रीय कमिटीका सबै सदस्य तथा केन्द्रीय निकाय र आयोगका पदाधिकारी रहनेछन् । परिचालन कमिटीमा जनसंगठनका अध्यक्ष र महासचिवसहित केन्द्रीय विभागका सचिव रहने छन् ।
एमालेले चुनावी रणनीति तयारका निम्ति केन्द्रीय कमिटी बैठकले भदौको ७, ९, १० र ११ गते केन्द्रीय कमिटी बैठक बोलाएको हो । केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेश गर्र्दैछन् ।