गत वर्षको धित् मार्न कोपिलाको यसपाली ‘नाचौँ छम छम…’ (भिडियो)
अखबार टुडे
प्रकाशित:
२०७९, २६ श्रावण

काठमाडौं, २६ साउन । गायिका कोपिला गौतमले यसपालीको तीजलाई लक्षित गर्दै नयाँ गीत ल्याएकी छन् । गत वर्ष अस्वस्थ भएर तीज गीत ल्याउन नपाएकी कोपिलाले यसपाली ‘नाचौँ छम छम छम’ बोलको तीज गीत ल्याएकी हुन् ।

गत वर्ष यो समयमा उनी क्यान्सरविरुद्ध लड्दै थिइन् । क्यान्सरविरुद्धको लडाइँ जित्न सफल भएकी कोपिलाले यस वर्षको तीजमा चेलीबेटीलाई नचाउन ‘नाचौँ छम छम छम’ बोलको गीत ल्याएको बताइन् ।

उक्त गीतको भिडियो बिहीबार आफ्नै अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरेकी छन् । सार्वजनिक गीतमा शब्द रचना र संगीत गोविन्द मधुर आचार्यको रहेको छ ।

‘नाचौँ छम छम छम’को भिडियोमा टिका जैसी र अनु पराजुलीले अभिनय एवं नृत्य गरेका छन् । जसलाई नेपाली लोकदोहोरी क्षेत्रका चर्चित कलाकार तथा निर्देशक शंकर बिसीले निर्देशन गरेका छन् ।

ओजपूर्ण शब्द, संगीत, स्वर र सशक्त अभिनय रहेको गीत सार्वजनिक गरेपछि गायिका गौतमले भनिन्, ‘जीवन साँचे हाँस्न नाच्न पाइदोरहेछ । मरेर कसैले केही लादैन, बाँचुन्जेल कसैलाई नरुवाउँ । सके बरु नचाऔं, हँसाऔं, बचाऔँ ।’

लोकदोहोरी तथा आधुुनिक गीतसंगीतमा परिचित इलामकी गायिका गौतमले केही बर्षयता तीज लक्षित गीत ल्याउँदै आएकी हुन् । यसअघि उनका पोखरा फेवाताल, आमाले पकाको दर राम्रो, मेरै घरमा बसेर दर खाउँला, चौतारी ताकेरजस्ता लोकप्रिय तीज गीतहरु बजारमा आइसकेका छन् ।

प्रतिक्रिया