
काठमाडौं, २५ साउन । साउदी अरेबियामा २ बर्षअघि सडक दुर्घटनामा परी एक हात गुमाएका मोरङ बेलबारी–६ का अरुण राई त्यसयता अलपत्र परेका छन् ।
२०१९ जुनमा नारायणी मेनपावरबाट साउदीस्थित अल मसार कम्पनीमा ड्राइभरका लागि गएका थिए । २०२० जनवरीमा सडक दुर्घटना भयो । आफ्नो एक हात गुमाए ।
दुर्घटनामा भएको १० दिनपछि हस्पिटलबाट कम्पनीले स्टाफ एकोमोडेसन राखेको थियो । हालसम्म स्वदेश फिर्ताको लागि कुनै पनि पहल नगरेको उनको गुनासो छ ।
‘परिवारलाई सुख सुविधा दिने उद्देश्यले साउदी आएको थिएँ । अचानक दुर्घटनामा परें,’ उनले भने, ‘दुर्घटनामा मेरो गल्ती देखाएको छ । त्यो केश तनफिज कोर्टमा रहेको र हालसम्म पनि कुनै सुनाई भएको छैन । स्वदेश फिर्ताको लागि कठिन भएको छ ।’
काठमाडौं गंगबुमा रहेको नारायणी मेनपावरमा १ लाख २५ हजार तिरेर साउदी पुगेका हुन् । नेपाली दूतावास रियादमा सडक दुर्घटना सम्बन्धी सम्पूर्ण जानकारी गराएको उनी बताउँछन् ।
दूतावासले सम्बन्धित कम्पनी र पीडितसँग समन्वय गरी आवश्यक कार्य अगाडि बढाएको थियो । त्यसपछि प्रगति नभएको गुनासो उनको छ ।
राईको अवस्थालाई मध्यनजर गर्दै साउदीमा कार्यरत नेपालीको सिडीसी ग्रुपले आयोजना गरेको सांस्कृतिक कार्यक्रमबाट ६ हजार साउदी रियल संकलन गरेर सहयोग गरेका थिए । उनका बुवा, आमा, श्रीमती र एक छोरी छन् ।