काठमाडौं, २५ साउन । बुधबार दिउँसो प्रदेश–१, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
विभागका अनुसार आज राति पनि बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
भारी वर्षाको सम्भावना भएका स्थानमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले दैनिक जनजीवन प्रभावित हुनसक्ने भन्दै विभागले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
यस्तै भोलि बिहिबार पनि बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहँदा शुक्रबार देशको पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।