आले हत्या प्रकरणः सात जनालाई पुर्पक्षका लागि कारागार पठाइयो
अखबार टुडे
प्रकाशित:
२०७९, २४ श्रावण

गोरखा, साउन २४ । गोरखा नगरपालिका वडा नम्बर ८ स्थित नयाँबस्तीका २० वर्षीय अनिल आलेको हत्याका आरोपी सात प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

जिल्ला अदालतले आले हत्या आरोपका प्रतिवादीलाई कारागार चलान गर्न आदेश दिएपछि उनीहरूलाई कारागार पठाइएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सोमदास ढकालका अनुसार कारागार चलान हुनेमा हत्याका आरोपी गोरखा –८ का २० वर्षीय शिशिर थापा, पालुङटार नगरपालिका–८ का १९ वर्षीय सचिनबाबु कोइराला, वडा नम्बर २ का १९ वर्षीय सुलभ रानामगर रहेका छन् ।

त्यस्तै धार्चे गाउँपालिका वडा नम्बर ५ का २३ वर्षीय सुरेश सुनार, बारपाक सुलिकोट गाउँपालिका–४ का २१ वर्षीय विष्णु विक, तनहुँ बन्दीपुर गाउँपालिका–६ का १९ वर्षीय प्रथम गुरुङ र दाङ गढवा गाउँपालिका–८ का ४२ वर्षीय नरेश बुढामगर पनि आलेलाई कारागार चलान गरिएको उनले बताए ।

गत असार ३० गते बिहान गोरखा–८ मा पर्ने नयाँबस्ती टोलस्थित सडकखण्डमा नालीमा मृतावस्थामा भेटिएपछि प्रहरीले आलेको हत्या भएको आङ्शका उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानपछि उनीहरुमाथि कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरेकामा अदालतले सबैलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

प्रतिक्रिया