मंसिर ४ गते आम निर्वाचन : यस्तो छ आयोगले तयार पारेको निर्वाचन तालिका
अखबार टुडे
प्रकाशित:
२०७९, २४ श्रावण

काठमाडौं, २४ साउन । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको कार्यतालिका तयार गरेको छ । आगामी ४ मंसिरमा हुने आम निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको हो ।

आयोगले गर्ने आन्तरिक कामको कार्यतालिका स्वीकृत गरेको आयुक्त ईश्वरीप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार निर्वाचनका लागि राजपत्रमा सूचना प्रकाशित गर्नुपर्नेछ । जसका लागि २५ भदौमा लेखी पठाउने उनले बताएका छन् ।

उनका अनुसार आगामी असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको मिति तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन गरि २८ गतेदेखि मतपत्र छपाइ सुरु गरिनेछ ।

यस्तै, असोज ११ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नियुक्त गर्ने, २१ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तय भएको छ ।

प्रत्यक्षतर्फ १६५ प्रतिनिधिसभा तथा ३३० प्रदेशसभा सदस्य पदका लागि ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछन् ।

असोज २८ गतेदेखि मंसिर १ गतेसम्म मतदाता शिक्षा, मतदान सामग्री ढुवानी, मतदान अधिकृत र सहायक मतदान अधिकृतको नियुक्ति, मतपत्र ढुवानी, मतदान अधिकृतलाई निर्वाचन सामग्री हस्तान्तरण, उम्मेदवार तथा राजनीतिक दलको प्रचारप्रसार अवधि तोकिएको छ ।

आयोगका अनुसार मंसिर १ गते राति १२ बजेदेखि प्रचारप्रसारमा रोक लगाइने छ भने मंसिर ४ गते बिहान ७ बजेदेखि पाँच बजेसम्म मतदान हुनेछ । यो अवधिमा ७६ वटा कार्यक्रम हुने आयोगले जनाएको छ ।

निर्वाचनका लागि दल दर्ता भने यसअघि २२ गतेदेखि नै सुरु भएको छ । दल दर्ताको मिति यही साउन ३१ गतेसम्मका लागि तोकिएको छ । समानुपातिकतर्फको बन्दसूची पेस गर्ने कार्यतालिका भने असोज २ र ३ गतेका लागि तय गरिएको छ ।

प्रतिक्रिया