रुस-युक्रेन युद्ध : कब्जा भएका क्षेत्रमा जनमत संग्रह गर्ने तयारी
अखबार टुडे
प्रकाशित:
२०७९, २३ श्रावण

काठमाडौं, २३ साउन (एजेनसी) । रुसले युक्रेनमा कब्जा भएको क्षेत्रमा जनमत संग्रह गर्ने र ती क्षेत्रलाई आफ्नो भूभागमा गाभ्ने तयारी गरेको छ ।

रुसी राष्ट्रपति पुटिन आफ्नो कब्जामा रहेको क्षेत्रमा रुसले जित्ने गरी जनमत संग्रह गराउन चाहेको हो ।

रुसको कब्जामा रहेका युक्रेनको दक्षिणमा खेरसनजस्ता सहर र गाउँहरूमा रुसी नियुक्त प्रशासकहरूले सेप्टेम्बरमा चुनाव गराउने तयारी गरेका छन् ।

युक्रेन र पश्चिमी देशका अधिकारीहरूले भने हाल गरिने कुनै पनि जनमत संग्रह वैध नहुने बताएका छन् । युक्रेनका विश्लेषकहरूले जनमत संग्रहमार्फत पुटिनले युक्रेनका नियन्त्रित भूभागको नियन्त्रणलाई वैधता दिने प्रयास गरेको बताएका छन् ।

रूसी अधिकारीहरूले जनमत संग्रह गर्न खोजेका चार क्षेत्रमध्ये एकमा पर्छ , खेरसन क्षेत्र । त्यसबाहेक जोपोरभिझिया, लुहान्स र दोनेत्स्क क्षेत्रमा पनि जनमत संग्रह हुनेछ । न्युर्योक टाइम्सका अनुसार नयाँ निर्वाचन आयोगहरूमा रूसीहरू नियुक्ति भइरहेका छन् ।

हाल कब्जा भएका क्षेत्रका स्थानीयलाई रुसी राहदानी, रुसी मोबाइल नम्बर र रुसी टेलिभिजन हेर्नको लागि सेट–टप बक्स, युक्रेनी मुद्राको सट्टा रुसी रुबल प्रयोग भइरहेको छ । इन्टरनेट प्रसारण रूसी सर्भरमार्फत भइरहेको छ ।

यसको विरोध गर्नेहरु सयौं व्यक्ति पक्राउ परेका छन् । रुसले कब्जा गरेका क्षेत्रमा डर र लोभमार्फत रूसी जीवनशैली अपनाउन प्रयास गरिँदैछ । निलो, सेतो र रातो होर्डिङमा लेखिएको छ, हामी एक छौं, हामी रुसका साथ छौं ।

प्रतिक्रिया