हेटौंडामा पाँच सवारीसाधन आपसमा ठोक्किए, विद्यार्थीसहित १५ जना घाइते
अखबार टुडे
प्रकाशित:
२०७९, २३ श्रावण

हेटौंडा, २३ साउन । मकवानपुरको हेटौंडामा पाँच वटा सवारीसाधन एक-पसमा ठोक्किएका छन् ।

हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित पूर्वपश्चिम राजमार्गमा कुल बस, ट्रक, ट्यांकर, कार र लरी एक-आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार दुर्घटना हुँदा विद्यार्थीसहित १५ जना घाइते भएका छन् ।

उनीहरूको हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको छ भने सबैको अवस्था सामान्य नै रहेको जनाइएको छ । कार्कीका अनुसार दुर्घटना सोमबार बिहान ९ः०५ बजे भएको हो ।

सुरूमा ना १ क ५१२३ रिलायन्स स्कुलको बसलाई पछाडिबाट ना ५ ख ६२५४ नम्बरको ट्रकले ठक्कर दिएको थियो । फेरि सोही ट्रकले गएर लु १ क ७३७० नम्बरको ट्यांकरलाई ठक्कर दिएको थियो । त्यस ट्यांकरले बा ७ च ९६०४ नम्बरको कारलाई ठक्कर दिएको थियो ।

त्यस्तै ट्रकले फेरि गएर सडकमा रोकिराखेको प्रदेश २-०३-००१-ख २५०६ नम्बरको लरीलाई ठक्कर दिएको कार्कीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया