रोनाल्डोलाई म्यानचेस्टर छाड्न दिएकै राम्रो : रोनी
अखबार टुडे
प्रकाशित:
२०७९, २३ श्रावण

काठमाडौं, २३ साउन (एजेन्सी) । म्यानचेस्टर युनाइटेडका पूर्वफरवार्ड वायन रोनीले आफ्नो पूर्व सहकर्मी क्रिस्टियानो रोनाल्डोलाई टिममा कायम नराख्नु नै ठीक हुने बताएका छन् ।

म्यानचेस्टरले आफ्नो भविष्यलाई लिएर सोच्ने हो भने रोनाल्डोलाई टिममा नराख्नु नै बुद्धिमानी निर्णय हुने बताएका हुन् ।

रोनीले भने, ‘रोनाल्डो म्यानचेस्टर छाड्न चाहन्छन् भने त्यसो गर्न दिएकै राम्रो । रोनाल्डोले नयाँ मुख्य प्रशिक्षक एरिक टेन हागको रणनीति अनुसार म्यानचेस्टरका लागि खेल्न नसक्ने भन्ने होइन् । उनले विश्वका कुनै पनि टिमका लागि खेल्न सक्छन्, गोल पनि गर्नेछन् । तर मेरो विचारमा अहिले तत्काल म्यानचेस्टरले कुनै उपाधिका लागि चुनौती दिन सक्दैन् । त्यसैले म्यानचेस्टरले नयाँ टिम बनाउनमै ध्यान दिनुपर्छ ।’

युनाइटेड गत सिजन प्रिमियर लिगको शीर्ष ४ मा नपरेपछि यस सिजन च्याम्पियन्स लिग खेल्नबाट बन्चित भएको छ । त्यसकारण रोनाल्डो च्याम्पियन्स लिग निरन्तर खेल्नकै लागि पनि अन्यत्र जान चाहिरहेका छन् ।

तर युरोपका शीर्ष क्लबसँग छलफल गरेपनि कुनैपनि क्लबले उनलाई लिन मानेन् । गत सिजन रोनाल्डोले म्यानचेस्टरका लागि सबै खाले प्रतियोगितमा २४ गोल गरेका थिए । तर टिमको समग्र प्रदर्शन भने राम्रो रहेन र टिम निराशाजनक रूपमा छैटौं स्थानमा रहेको थियो ।

प्रतिक्रिया