वाणिज्य बैंकहरुको नाफा १४ अर्बले बढ्यो, कुन बैंकले कति कमाए ?
अखबार टुडे
प्रकाशित:
२०७९, २२ श्रावण

काठमाडौं, २२ साउन । आर्थिक वर्ष २०७८/७९ मा वाणिज्य बैंकहरूको नाफा ७४ अर्ब ७० करोड रूपैयाँ पुगेको छ ।

यो अघिल्लो आर्थिक वर्ष भन्दा १४ अर्बले बढी हो । २०७७/७८ मा बैंकहरूले ६० अर्ब ६० करोड रूपैयाँ नाफा कमाएका थिए ।

सञ्चालनमा रहेका २६ वाणिज्य बैंकहरूले प्रकाशित गरेको वित्तीय विवरण अनुसार सबैभन्दा बढी नाफा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले आर्जन गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले असारमसान्तसम्म ५ अर्ब २१ करोड नाफा आर्जन गरेको छ ।

दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले ५ अर्ब २० करोड नाफा आर्जन गरेको छ । तेस्रो स्थानमा रहेको नबिल बैंकले ४ अर्ब ९७ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।

धेरै नाफा कमाउने बैंकमा एनआइसी एशिया चौथो स्थानमा छ । बैंकले असार मसान्तसम्म ४ अर्ब ५२ करोड रुपैयाँ नाफा कमाएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले ४ अर्ब ८ करोड नाफा कमाएको विवरणमा उल्लेख छ ।

यस्तै एनएमबी बैंकले ३ अर्ब ७० कारोड, प्रइम कमर्सियल बैंकले ३ अर्ब ६८ करोड, नेपाल बैंकले ३ अर्ब २६ करोड, सिद्धार्थ बैंकले ३ अर्ब २१ करोड र मेगा बैंकले २ अर्ब ८३ करोड नाफा कमाएको छ ।

सबैभन्दा कम नाफा गर्नेमा भने सेञ्चुरी कमर्सियल बैंक छ । बैंकले एक अर्ब ३५ करोड रूपैयाँ नाफा कमाएको हो ।

बैंकहरूमा कर्जा योग्य पुँजी अभावको समस्या यथावत रहँदा समेत २६ वटा बैंकहरूको नाफा औसतमा भने २३.३ प्रतिशतले वृद्धि भएको छ ।

बैंकहरूको नाफामा भएको वृद्धिसँगै सेयर लगानीकर्ताहरूलाई बाँड्न मिल्ने लाभांश रकम तीन खर्ब ५६ अर्ब पुगेको छ । लक्ष्मी र सनराइज बैंकबाहेक अन्य बैंकहरूले करिब १० प्रतिशतदेखि ४१ प्रतिशतसम्म लाभांश बाँड्न सक्ने अवस्था बनेको छ ।

लक्ष्मी र सनराइज बैंकको भने यस्तो क्षमता दुई प्रतिशतको हाराहारी छ । बैंकहरूको प्रति सेयर आम्दानी औसतमा १८ प्रतिशतबाट बढेर २० प्रतिशत पुगेको छ ।

बैंकहरूको कर्जा लगानी १५.३९ प्रतिशतले बढेर ४० खर्ब पुगेको छ । बैंकहरूको निक्षेप संकलन भने ११.५८ प्रतिशतले बढेर ४४ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ । बैंकहरूले करिब एक खर्ब आठ अर्ब बराबरको कर्जाको ब्याज उठाउन सकेका छैनन् ।

प्रतिक्रिया