कामचलाउ सरकारले सदनलाई बिजनेस दिन मिल्छ ?: प्रदीप ज्ञवाली
अखबार टुडे
प्रकाशित:
२०७९, २२ श्रावण

काठमाडौं, २२ साउन । नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले चुनाव घोषणापछि कामचलाउ भएको सरकारले सदनलाई बिजनेस दिन नमिल्ने बताएका छन् ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा बोल्दै एमाले सांसद ज्ञवालीले निर्वाचन घोषणा हुनु संवैधानिक विषय भएको र निर्वाचन घोषणालगत्तै कामचलाउमा परिणत भएको सरकारले नियमित जसरी संसद चलाइरहेको भन्दै सदनलाई बिजनेस दिन नमिल्छ बताएका हुन् ।

उनले भने, ‘निर्वाचन मिति घोषणा गरेपछि सरकार कामचलाउमा रूपान्तरित भयो । तर हामी सदन चलाइरहेका छौं । कामचलाउ सरकारले सदनलाई बिजनेश दिन मिल्छ र सभामुख महोदय?’ ।

लामो समय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर र जबराविरुद्धको महाभियोग अगाडि नबढाएकोमा पनि ज्ञवालीले आपत्ति जनाए ।

२९ फागुनमा दर्ता भएको सामान्यत महाअभियोग दर्ता भएको तीन महिनामा टुंगो लाग्ने भएपनि सरकारले राजनीतिक प्रतिशोध राखेर संसदमा प्रस्ताव नै नल्याएको उनले बताए ।

उनले भने, ‘उनी महाअभियोगको भागिदार हुन् भने गहिरो छानबिन गरौं, महाअभियोग लगाएर हटाऔं । होइन भने यो ढंगले झुण्ड्याउन मिल्दैन । अब सदन अन्त्य हुने बेलामा ल्याएर हामीले न्याय गर्दैछौं ? यो उचित भएन ।’

प्रतिक्रिया