काठमाडौं, २० साउन । अमेरिकी सभामुख नान्सी पेलोसीको भ्रमणपछि ताइवान क्षेत्रमा उत्पन्न परिस्थितिलाई नेपालले नजिकबाट नियालिरहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताएकी छन् ।
आज आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता लम्सालले नेपाल ‘एक चीन नीति’ प्रति प्रतिवद्ध रहेको पनि बताइन् ।
उनले भनिन्, ‘चीन(ताइवानको विषयलाई नेपालले नजिकबाट नियालिरहेको छ । एक चीन नीतिको समर्थन गर्दै आएको छ । दुवै देशले एक अर्कोको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधिनताको समर्थन गर्दै आएको छ । नेपाल एक शान्तिपूर्ण राष्ट्र भएकाले अन्तर्राष्ट्रिय शान्तिको पक्षमा रहेको कुरा जानकारी गराउन चाहन्छौं ।’
उनले परराष्ट्रमन्त्रीको चीन भ्रमणमा हुने सम्झौता तत्काल भन्न नमिलने भन्दै त्यसको लागि समय र परिस्थिति अनुकुल पुनः पत्रकार सम्मेलान गरेर जानकारी दिने बताइन् ।
यस्तै अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)बारे संसदमा नै परराष्ट्रमन्त्री डा. नारायण खड्काले जानकारी दिइसके भन्दै उनले यसबारेमा थप बोल्न नमिल्ने बताइन् ।