बास्केटबल खेलाडी ग्रिनरलाई रुसमा ९ बर्ष जेल सजाय, अमेरिकाद्वारा लेनदेनको प्रस्ताव
अखबार टुडे
प्रकाशित:
२०७९, २० श्रावण

काठमाडौं, २० साउन (एजेन्सी) । अमेरिकी महिला बास्केटबल खेलाडी ब्रिट्नी ग्रिनरलाई रुसको एउटा अदालतले लामो जेल सजाय सुनाएको छ ।

अदालतले लागु औषध प्रशोधन र ओसारपसारको आरोपमा उनलाई त्यहाँको अदालतले नौ वर्षको लामो सजाय सुनाएको हो ।

३१ वर्षकी ग्रिनरले अदालतलाई आफूले केही कोस्टर आयल बोकेको भएपनि त्यो लागु औषध तस्करी र कारोबार प्रयोजनको लागि नभएको बताएकी छन् ।

दुई पटककी ओलम्पिक स्वर्ण पदक विजेता बास्केटबल खेलाडी ग्रिनरले आफुले आफूबाट अन्जानमै ‘इमानदार गल्ती’ गरेको तर कानुन उल्लङ्घन गर्ने नियत नभएको भन्दै उनले क्षमायाचना गरेपनि अदालतले भने याचना सुनेन ।

विश्वकै उत्कृष्ट महिला खेलाडीको पहिचान बनाएकी ग्रिनर गत फेब्रुअरीमा मस्को नजिकैको विमानस्थलबाट गाँजाको तेल भरिएको धूमपान गर्ने विद्युतीय उपकरणसहित पक्राउ परेकी थिइन् । उनी अमेरिकी अफ सिजनमा बास्केटबल खेल्न रुस आएकी थिइन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनले उनलाई दिइएको सजाय अस्वीकार्य भनेका छन् । यसैबीच उनको रिहाइका लागि अमेरिकाले लेनदेनको प्रस्ताव गरेको बताइएको छ ।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्वीले उनको रिहाइका लागि अमेरिकाले गम्भीर प्रस्ताव गरेको बताए पनि त्यसबारे थप खुलाएका छैनन् ।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार अमेरिकाले पक्राउ गरेका रुसी हतियार तस्करसँग उनलाई साटफेर गर्न प्रस्ताव गरिएको हुनसक्ने उल्लेख गरेको छ ।

मृत्युका व्यापारी भनेर चिनिने भिक्टर बाउटले अमेरिकामा २५ वर्ष जेल सजाय भुक्तान गरिरहेका छन् । अमेरिकाले उनलाई ग्राइनर र पूर्व अमेरिकी नौसैनिक पल विलनको सट्टामा रुसलाई हस्तान्तरण गर्न सक्ने विवरणहरू आएका छन् ।

अमेरिकी, ब्रिटिश, क्यानेडियन र आइरिश पासपोर्ट बोक्ने विलनलाई जासुसी गरेको आरोपमा रुसले सन् २०२० मा १६ वर्ष जेल सजाय तोकेको थियो ।

प्रतिक्रिया