
काठमाडौं, २० साउन । जनमत पार्टीका अध्यक्ष सिके राउतले आगामी मंसिर ४ गतेको निर्वाचनमा सप्तरी(२ बाट चुनाव लड्ने भएका छन् ।
उनी २०७४ सालमा उपेन्द्र यादवले जितेको सप्तरी २ बाट चुनाव लड्न लागेका हुन् ।
मधेस आन्दोलनको केन्द्र भएकाले राउतले यही क्षेत्र रोजेको पार्टी प्रवक्ता चन्दन सिंहले जानकारी दिए । उनका अनुसार राउतको घर पनि यही क्षेत्रमा पर्छ ।
गत स्थानीय चुनावमा राउतको घर रहेको वडा सप्तरीको महादेवा गाउँपालिका– २ मा जनमत पार्टीले वडाध्यक्षसहित प्यानलै जितेको थियो । सप्तरीकै हनुमाननगर कंकालिनी नगरपालिका र बलानबिहुल गाउँपालिकामा पनि प्रमुख पदमा जनमत पार्टीले जितेको छ ।
२४ फागुन २०७५ मा जनमत पार्टी र सरकारबीच शान्तिपूर्ण सम्झौता भएको थियो । ओली नेतृत्वको सरकारले उनीसँग ११ बुँदे सहमति गरेको थियो । त्यसयता जनमत पार्टीले तराई मधेस केन्द्रित रहेर आफ्नो राजनीति अगाडि बढाउँदै आएको छ ।