चीन-ताइवान तनाव : ताइवानका मानिसहरू ‘शान्त तर चिन्तित’
अखबार टुडे
प्रकाशित:
२०७९, १९ श्रावण

काठमाडौं, १९ साउन । सैन्य अभ्यासका क्रममा चीनले प्रहार गरेका पाँच वटा क्षेप्यास्त्र आफ्नो विशेष आर्थिक क्षेत्रमा अवतरण गरेको जापानले जनाएको छ ।

जापानका रक्षामन्त्री नबुओ किशीले कूटनीतिक च्यानलमार्फत त्यसको कडा रूपमा प्रतिवाद गरेको बताएका छन् । बीबीसीका अनुसार ताइवानले आफ्नो भूमि वरपर चीनले अहिलेसम्म ११ वटा क्षेप्यास्त्र प्रहार गरिसकेको जनाएको छ ।
चीनले ताइवानको उत्तरपूर्वी र दक्षिणपश्चिमी तटहरू वरपरको समुद्रमा थुप्रै डङ्फेङ् बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको बताइएको छ ।

समाचार एजेन्सी रोएटर्सका अनुसार ताइवानका रक्षामन्त्रीले पनि प्रक्षेपणको प्रतिक्रियास्वरूप आफ्नो प्रतिरक्षा प्रणाली सक्रिय बनाएको बताएका छन् ।

स्थानीय समयअनुसार बिहीबार दिउँसो १२ बजे प्रत्यक्ष गोलाबारी सुरु भएको थियो र यस टापु राष्ट्रको १२ माइलभित्रका धेरै स्थानहरूमा अभ्यास हुने तय गरिएको छ ।ताइवानले चीनले यस क्षेत्रमा यथास्थिति परिवर्तन गर्न खोजिरहेको आरोप लगाएको छ ।

हाल ताइवान र त्यहाँबाट अन्यत्र जाने ५० भन्दा बढी अन्तर्राष्ट्रिय उडानहरू रद्द गरिएको समाचारहरुमा बताइएको छ । तैपनि ताइपेईको जनजीवन सामान्य चलिरहेको बीबीसीले उल्लेख गरेको छ । बीबीसीले उल्लेख गरेअनुसार ताइवानका मानिसहरू ‘शान्त तर चिन्तित’ अवस्थामा छन् ।

ताइवानको मुख्यभूमि मामिलासम्बन्धी निकायले चीनले अन्तर्राष्ट्रिय समुदायलाई यस टापुलाई सहयोग नगर्न बाध्य तुल्याउने प्रयास गरिरहेको बताएको छ ।

त्यस्तै चीनमाथि क्षेत्रीय शान्ति बिथोलेको र नाकाबन्दी लगाएको ताइवानको आरोप छ । साथै, चीनको सैन्य अभ्यासविरुद्ध आफूले पनि तयारी गरिरहेको जनाएको छ ।

विश्लेषक बोनी लिनले बीबीसीसँग ताइवानका सेनाले सावधानीपूर्वक प्रतिक्रिया जनाउने भएपनि लडाइँको जोखिम रहेको बताएकी छन् ।
उनले बीबीसीसँग भनेकी छन्, ‘उदाहरणका लागि, चीनले ताइवानको आकाशमा विमानहरू उडाउने निर्णय गरेको खण्डमा ताइवानले उनीहरूलाई रोक्ने प्रयास गर्ने सम्भावना छ । दुई देशबीच हवाई टक्कर देख्न सक्छौँ । हामीले धेरै फरक परिदृश्यहरू देख्न सक्छौँ ।’

चीनको चेतावनीविरुद्ध अमेरिकी सभामुख पलोसीले ताइवानको छोटो तर विवादास्पद भ्रमण गरिन् । ताइवानलाई चीनले आफूबाट छुट्टिएको प्रान्तको रूपमा हेर्छ । सोही भ्रमणको मुख्य प्रतिक्रियास्वरूप बेइजिङले सैन्य अभ्यासहरू सुरु गरेको हो । यद्यपि, चीनले ताइवानसँग केही व्यापार पनि अवरुद्ध गरेको समाचारहरु आएको छ ।

यी दुई देशबीच तनावका कारण व्यापारिक जहाजहरू मार्ग परिवर्तन गर्न बाध्य भएपछि विश्वव्यापी ढुवानीमा ढिलाइ र आपूर्ति प्रणालीहरू अवरुद्ध हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया