संघ र प्रदेशको निर्वाचन मंसिर ४ गते : सांसदको कार्यकाल २१ मंसिरसम्म रहने
अखबार टुडे
प्रकाशित:
२०७९, १९ श्रावण

काठमाडौं, १९ साउन । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरू (सांसद)को कार्यकाल आगामी मंसिर २१ गतेसम्म कायम रहने जनाएको छ ।

सरकार प्रतिनिधि सभा र प्रदेशको निर्वाचन मंसिर ४ गते घोषणा गरेको छ । यसलगतै निर्वाचन आयोगले बिहीबार पत्रकार सम्मेलन गर्दै सांसदको कार्यकाल मंसिर २१ गतेसम्म रहने जनाएको हो । आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले यस विषयमा सरकारलाई सिफारिस गरिसकेको बताएका छन् ।

थपलियाले सरकारलाई आयोगले दिएको ५ पृष्ठको सिफारिसमा पदावधिको विषयमा स्पष्ट रुपमा उल्लेख गरेको बताए । ‘संविधान र कानुनअनुसार निर्वाचित मितिबाट पदावधि प्रारम्भ हुने व्यवस्थालाई टेकेर मंसिर २१ गते पदावधि समाप्त हुने भनि लिखित रुपमा हामीले गरेको सिफारिसलाई सरकारले स्वीकार गरेको ठानेका छौँ’ उनले भने ।

प्रमुख आयुक्त थपलियाले उम्मेदवारी दिने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुको पद भने स्वतः सकिने समेत बताएका छन् ।

प्रतिक्रिया