चीनद्वारा ताइवानमाथि नाकाबन्दी, युद्ध अभ्यासलाई तिव्रता
अखबार टुडे
प्रकाशित:
२०७९, १९ श्रावण

काठमाडौं, १९ साउन । अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी फर्किनेबित्तिकै युद्ध अभ्यास सुरु गरेको चीनले ताइवानमाथि नाकाबन्दीको समेत घोषणा गरेको छ ।

युद्ध अभ्यासमा युद्धपोत, लडाकु विमान, मिसाइलहरू तैनाथ गरिएको चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेका छन् । फायरिङ अभ्यासका क्रममा बिहीबार बिहानै चीनले ताइवानको सीमानजिकै दुई वटा मिसाइल प्रक्षेपण गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

चीनले अहिले गरेको सैन्य अभ्यासलाई अहिलेसम्मकै ठूलो भनिएको छ । चीनको यस सैन्य अभ्यासलाई अमेरिकाले नजिबबाट नियालिरहेको जनाएको छ । अमेरिकाले पनि आफ्नो युद्धपोत युएसएस रोनाल्ड रेगनलाई ताइवान नजिकैको फिलिपिन्स सागरमा पठाएको छ ।

चीनको यस गतिविधिलाई लिएर ताइवानले भनेको छ, ‘हामी स्थितिको निगरानी गरिरहेका छौं ।’ ताइवानको रक्षा मन्त्रालयले आफूहरुले युद्ध नचाहेको समेत जनाएको छ ।

‘हामी कुनै पनि परिस्थितिसँग जुध्न तयार छौं । तर हामी द्वन्द्व चाहँदैनौँ’ रक्षामन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
अमेरिकाले न्यान्सी पेलोसीको भ्रमणलाई संकटमा नबदल्न चीनलाई चेतावनी दिएको छ ।

न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई लिएर चीन आक्रोशित छ । उसले यसअघि अमेरिकालाई उक्त भ्रमण स्थगित गर्न आग्रह गरेको थियो । साथै, ताइवानलाई गम्भीर परिणामको धम्की दिइएको थियो । यसैबेला यही मंगलबार ताइवान भ्रमणमा आएकी थिइन् । उनले बुधबार ताइवानका राष्ट्रपतिसँग भेट गरेर फर्किसकेकी छन् । पेलोसी फर्किनेबित्तिकै चीनले समुद्रमा सैन्य गतिविधि सुरु गरेको हो ।

यसअघि बुधबार चीनले ताइवानको वायु रक्षा क्षेत्रमा २७ वटा लडाकु विमान पठाएको थियो । तीमध्ये २२ वटा विमानले दुई देशबीचको अघोषित सीमा रेखा पार गरेका थिए । चीनले ताइवान वरपरका ६ स्थानबाट हवाई र समुद्रमा अभ्यास गर्ने घोषणा गरेको छ ।

पेलोसीले ताइवानको भ्रमणका क्रममा राष्ट्रपति साई इङ वेनसँग भेटमा अमेरिकाले ताइवानको लोकतन्त्रको रक्षा गर्ने बताएकी थिइन् । साथै, ताइवानलाई गरेको हरेक वाचा पूरा गर्ने प्रतिवद्धता समेत जनाएकी थिइन् ।

चीनले ताइवानलाई आफ्नो क्षेत्र मान्छ जबकि ताइवानले आफूलाई स्वतन्त्र राष्ट्रको रूपमा वर्णन गर्दछ ।
अमेरिकाको ताइवानसँग आधिकारिक कूटनीतिक सम्बन्ध छैन । उसले चीनको एक चीन नीतिलाई समर्थन गर्छ । तर अमेरिकाले ताइवान सम्बन्धी ऐन अन्तर्गत उसलाई हतियार बेच्दै आएको छ ।

तर, चीनले न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई एक चीन नीतिका लागि प्रत्यक्ष चुनौतीको रूपमा हेरिरहेको छ । चीनले यो भ्रमण हतियार उठाउने कारण पनि बन्न सक्ने चेतावनी दिएको छ ।

चीनको विदेश मन्त्रालयले न्यान्सीको भ्रमणबारे अमेरिकाको अडान आगोसँग खेलेजस्तै भएको बताएको छ । ‘यो धेरै खतरनाक छ । आगोसँग खेल्नेहरू आफै जल्छन् ।’ चिनियाँ विदेश मन्त्रालयले भनेको छ ।

प्रतिक्रिया