जब अष्ट्रेलियाकी सांसदले बेलायतकी महारानीलाई ‘उपनिवेशवादी’ भनेपछि…
अखबार टुडे
प्रकाशित:
२०७९, १९ श्रावण

काठमाडौं, १९ साउन (एजेन्सी) । अष्ट्रेलियाकी एक आदिवासी सांसदले शपथ ग्रहणका क्रममा बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई ‘उपनिवेशवादी’ भनेपछि हंगामा भएको छ ।

सिनेटर लिडिया थोर्पले शपथ ग्रहणको व्यहोरामा आफूखुसी केही शब्द थप्दै महारानी एलिजाबेथ द्वितीयलाई ‘उपनिवेशवादी’ भनेकी हुन् ।

शपथ लिने क्रममा उनले भनिन्, ‘म सम्प्रभु लिडिया थोर्प पूरा निष्ठा र इमान्दारीका साथ शपथ लिन्छु कि म बफादार रहँदै महारानी एलिजाबेथ द्वितीयको उपनिवेशप्रति सच्चा निष्ठा राख्दछु ।’

उनले यसो भनेपछि सभामुख सु लाइन्सले रोकिन् र शपथको व्यहोरामा लेखिएका शब्दमात्र बाचन गर्न भनिन् । त्यसपछि सिनेटर लिडिया थोर्पले दोर्होयाएर शपथ लिनु परेको थियो ।

गत साता सांसदहरुको शपथ ग्रहणमा उनी अनुपस्थित भएकाले एक्लै शपथ ग्रहण गरेकी थिइन् । थोर्पले भिक्टोरिया राज्यबाट ग्रिन्स पार्टीबाट संसदमा प्रतिनिधित्व गर्छिन् ।

९६ वर्षीया रानी एलिजाबेथ अष्ट्रेलिया राज्यको प्रमुख हुन्छिन् । उनलाई साक्षी राखेर शपथ ग्रहण गर्ने गरिन्छ । अष्ट्रेलिया एक सय वर्षभन्दा बढी समयसम्म बेलायतको उपनिवेश थियो ।

यस अवधिमा हजारौं मूल अष्ट्रेलियाली नागरिक मारिएका थिए भने कयौं बिस्थापित भएका थिए । सन् १९०१ मा अष्ट्रेलिया स्वतन्त्र भयो तर अझै पूर्ण गणराज्य बन्न सकेको छैन ।

प्रतिक्रिया