निगमले घटाएन इन्धनको मूल्य
अखबार टुडे
प्रकाशित:
२०७९, १९ श्रावण

काठमाडौं, १९ साउन । नेपाल आयल निगमले अझैपनि पेट्रोलियम पदार्थमा घाटा रहेको भन्दै तत्काल इन्धनको मूल्य घटाउन नसकिने जनाएको छ ।

इण्डियन आयल कर्पोरेशनले मूल्य घटाएर इन्धन पठाएपनि वक्यौता तिर्न बाँकी रहेकाले तत्काल मूल्य घटाउन नसकिने निगमले जनाएको हो ।

निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो पटक प्राप्त नयाँ मूल्य सूचीले निगमलाई १५ दिनमा ६३ करोड ५८ लाख रुपैयाँ घाटा हुने स्थिति देखिएकाले पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत् राख्नुपर्ने बाध्यात्मक अवस्था छ ।’

लगातार घाटामा पेट्रोलियम पदार्थ बिक्री गर्दा नेपाल सरकारले ७ अर्ब र राष्ट्रिय वाणिज्य बैंकले तीन अर्ब उपलब्ध गराएर पनि अझै २३ अर्ब रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । साथै, महँगो इन्धनको खपत कम गर्न सर्वसाधारणलाई निगमले आग्रह गरेको छ ।

भारतबाट सोमबार पेट्रोल प्रतिलिटर १६ रुपैयाँ तथा डिजेल १२ रुपैयाँले घटेर आएको थियो । १५ दिन अघि पनि आइओसीले पेट्रोलमा प्रतिलिटर १५ रूपैयाँ ७६ पैसा र डिजेलमा १६ रूपैयाँ ५६ पैसा घटाएर पठाएको थियो ।

हाल नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया