अमेरिकी सभामुख पेलोसीको ताइवान भ्रमण : चीन-अमेरिकाबीच बढ्यो तनाव
अखबार टुडे
प्रकाशित:
२०७९, १८ श्रावण

काठमाडौं, १८ साउन । ताइवान मामिलमा चीन र अमेरिकाबीच तनाव बढ्दै गएको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणसँगै चीनले ताइवान स्वशासित टापु क्षेत्रमा सैन्य अभ्यास सुरु गरेको छ ।

पेलोसी ताइवानको राजधानी ताइपेइमा अवतरण गरेसँगै चिनियाँ सेनाले मंगलबार रातिदेखि नै सैन्य अभ्यास सुरु गरेको चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

चिनियाँ सेनाले लडाकु विमानसहित परीक्षण पनि गरेको बताइएको छ । चिनियाँ मिडियाका अनुसार चिनियाँ सेनाले अगस्ट ४ देखि ७ सम्म उक्त टापुका ६ वटा क्षेत्रमा ‘लाइभ फायरिङ’ अभ्यास गर्ने छन् ।

चिनियाँ मिडिया सीसीटीभीले मंगलबार राति नै उक्त क्षेत्रमा चिनियाँ लडाकु विमानहरू उडिरहेको एउटा भिडियो सार्वजनिक गरेको थियो ।

ताइवानले भने चिनियाँ सेनाको यस्तो अभ्यासले संयुक्त राष्ट्र संघको नियम उल्लंघन गरेको भन्दै विरोध जनाएको छ । अमेरिकी सभामुख पेलोसीको ताइवान भ्रमणको बारेमा समाचार सार्वजनिक भएसँगै चीनले निरन्तर विरोध जनाउँदै आएको छ ।

चिनियाँ अधिकारीहरूले यस भ्रमणलाई लिएर अमेरिकालाई चेतावनी दिँदै आएका छन् । मंगलबार चीनले एक विज्ञप्ति जारी गर्दै यस भ्रमणले दुई देशको सम्बन्धमा गहिरो असर पार्ने भन्दै चीनको ‘एक चीन नीति’को उल्लंघन गरेको जनाएको छ ।

अमेरिकी सरकारले पेलोसीको भ्रमणको औपचारिक जानकारी नगराए पनि पेलोसी ताइपेइमा अवतरण गरेसँगै सभामुखको सचिवालयले विज्ञप्ति जारी गर्दै भ्रमणबारे जानकारी दिएको थियो ।

अमेरिकाले ताइवानको साथ छाड्ने छैन : पेलोसी

यसैबीच पेलोसीले आफ्नो देशले ताइवानको साथ नछाड्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । बुधबार ताइवानका राष्ट्रपति साई इङ्ग–वेनसँगको भेटमा सो कुरा बताएको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

समाचारमा उल्लेख भएअनुसार राष्ट्रपति साई इङ्ग–वेनसँगको भेटमा वर्तमान विश्वले लोकतन्त्र र निरङ्कुशतामध्ये एउटालाई रोज्नुपर्ने परिस्थितिको सामना गरिरहेको बताउँदै उनले विश्वभरि लोकतन्त्रको प्रवद्र्धनका निम्ति अमेरिका दृढ रहेको उल्लेख गरे । अमेरिका र चीनबीच तनाव बढेका बेला २५ वर्षको अन्तरालमा ताइवान भ्रमण गर्ने उनी उच्च अमेरिकी अधिकारी हुन् ।

राष्ट्रपति साईले सभामुख पेलोसीले ताइवान भ्रमण गरेकामा आभार व्यक्त गरेका छन् । उनले सभामुख पेलोसी ताइपइमा अवतरण गरेपछि मुख्यभूमि चीनबाट भएका सैन्य अभ्यास अनावश्यक प्रतिक्रिया भएका टिप्पणी गरे ।

कम्युनिस्ट शासित चीनले ताइवानलाई आफ्नो क्षेत्र मानेको छ भने आवश्यक परेमा बल प्रयोग गरेर उक्त टापुलाई पुनः दाबी गर्न सक्ने बताएको छ ।

अमेरिकाले पनि ‘एक चीन नीति’ पालना गर्दै आएको छ । उसले बेइजिङलाई चीनको सरकारको रूपमा मान्यता पनि दिएको छ । साथै ताइवानसँग अनौपचारिक रक्षा सम्बन्ध र अन्य अमेरिकाले कायम नै राखेको छ ।

प्रतिक्रिया