ताइवान मुद्दामा नेपालले चीनको समर्थन गर्ने विश्वास छः राजदूत यान्छी
अखबार टुडे
प्रकाशित:
२०७९, १८ श्रावण

काठमाडौं, १८ साउन । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल एक चीन सिद्धान्तप्रतिको प्रतिबद्धतामा दृढतापूर्वक उभिने विश्वास व्यक्त गरेकी छिन् ।

अमेरिकी प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणबारे बुधबार बिहान टिप्पणी गर्दै राजदूत होउले ‘ताइवान स्वतन्त्रता’को नेपालले दृढतापूर्वक विरोध गरेकोमा उच्च प्रशंसा गरेकी हुन् ।

राजदूत यान्छीले भनेकी छन्, ‘चीनले एक चीन सिद्धान्तप्रति नेपालको लामो समयदेखिको प्रतिबद्धता र ताइवान स्वतन्त्रताको दृढतापूर्वक विरोध गरेकोमा उच्च प्रशंसा गर्दछ । यो नेपाल–चीन सम्बन्धको राजनीतिक आधार पनि हो ।’

चीन–नेपाल हिमाल र नदीले जोडिएका असल छिमेकी, भरपर्दो मित्र र भरपर्दो साझेदार रहेको उल्लेख गर्दै राजदूत यान्छीले दुई देशले आफ्नो सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डता सम्बन्धी मूल हितका मुद्दाहरूमा सधैं एकअर्कालाई बुझेर समर्थन गरेको बताइन् ।

उनले थप भनेकी छन्, ‘हामी विश्वास गर्छौं कि नेपाल सरकार र यहाँका जनताले एक चीन सिद्धान्तको पालना गरिरहनेछन् र चीनको वैध र जायज अडानलाई बुझेर निरन्तर समर्थन गर्नेछन् । एकअर्काको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डताको रक्षा गर्न चीनसँग मिलेर काम गर्नेछन् ।’

पेलोसीले चीनको ताइवान क्षेत्रको भ्रमण गर्नु एक चीन सिद्धान्त र चीन–अमेरिकाको राजनीतिक आधारको गम्भीर उल्लंघन भएको राजदूत होउले बताएकी छिन् । यसले ताइवान स्ट्रेटमा शान्ति र स्थिरतालाई गम्भीर रूपमा कमजोर बनाएको उनको दावी छ ।

प्रतिक्रिया